दोलखा । सडकले छोएको त छ तर, बाह्रै मास यातायात सञ्चालन हुन सक्दैन । आर्थिक-सामाजिक रूपमा निकै पिछडिएको बस्ती, खेतीपातीबाट मुस्किलले तीन महिना खान पुग्छ । यो वास्तविकता हो- दोलखाको थामीचागु गाउँको । बिगु गाउँपालिका ८ मा पर्ने थामीचागुमा अल्पसङ्ख्यक थामी समुदायको बसोबास छ । यहाँ हरेक घरको खर्च वैदेशिक रोजगारीमा गएकाहरूले पठाउने रेमिटेन्सले चल्छ ।
टाढाबाट हेर्दा चिटिक्क परेका घरहरूले सिँगारिएको छ दुर्गम थामीचागु । ४७५ भन्दा बढी घरधुरी रहेको थामीचागुको बस्ती पसेपछि मात्रै देखिन्छ यो गाउँको वास्तविकता । कलिलैमा विवाह, त्यसपछि अंशबन्डा अनि परिवार पाल्न रोजगारीका लागि गरिने संघर्ष...।
गएको कात्तिकमा रोजगारी खोज्दै भारत पसेका २८ वर्षका ढलबहादुर थामीको उतै मृत्यु भएपछि छोरीछोरी र परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् मन थामी । बनिबुतो गरेर दुई छाक त टारेकी छन् तर छोरीछोरीको पढाइलाई लिएर उनको चिन्ता बढ्दो छ ।
विदेशबाट फर्केर कुखुरापालन गरेका छलीमाया थामीका श्रीमान् प्राविधिक ज्ञान नभएर लगानी डुबेपछि फेरि ऋण काढेर विदेश गएका छन् । गाउँमा गरी खान पाखो जमिन पनि नभएकाले हरेक घरका युवा रोजगारीका लागि विदेश गएका छन् । मानव विकास सूचांकमा निकै पछि रहेको थामीचागु आर्थिक र सामाजिक विकासमा समेत पिछडिएको छ ।
विदेश गएकाहरूले पठाएको रकमले गाउँमा समृद्धि भित्रिनुपर्ने हो । तर साहुको ऋण तिर्न र घर परिवारको दुई छाक टार्नमै परदेशीले पठाएको रकम सकिन्छ । वर्षका ९ महिना किनेरै खानुपर्ने भएपछि बचत मुस्किलले हुन्छ ।
यो गाउँ बर्खामा यातायात सञ्जालबाट विच्छेद हुन्छ । समयमै उपचार नपाउँदा गर्भवतीको ज्यान गएको तीतो यथार्थ रहेको बिगु गाउँपालिका अध्यक्ष हीरा थामीको भनाइ छ ।
१२ सय जति जनसङ्ख्या रहेको यो गाउँबाट तीन सयभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि भारत, मलेसियालगायत मुलुकमा गएका छन् ।