उद्योगीले बढाए चिनीको मूल्य, नियमन नहुँदा उपभोक्ता मारमा

कच्चा पदार्थको भाउ बढेको बहाना
माघ २६, २०८० |भरत रावल
उद्योगीले बढाए चिनीको मूल्य, नियमन नहुँदा उपभोक्ता मारमा

काठमाडौं । चिनी उद्योगीले उखु क्रसिङको मध्य सिजनमै चिनीको मूल्य बढाउन थालेका छन् । भारतले चिनी निर्यातमा रोक लगाउँदा गएको दसैंमा उद्योगी/व्यवसायीले भएकै चिनीसमेत लुकाए र चाडबाडको समयमा चिनीको हाहाकार भएको घटना ताजै छ । सरकारले तिहारअघि नै भारतबाट चिनी ल्याउने तयारी गरे पनि अहिलेसम्म नसकेका कारण चिनी उद्योगीको मनोमानी बढेको छ ।

चिनी उद्योगीले उखु क्रसिङकै समयमा एकैपटक प्रतिकेजी १५ रुपैयाँ बढाएका छन् । २०७८ मा उद्योगमा चिनीको मूल्य भ्याटसहित प्रतिकेजी ७० रुपैयाँ थियो । गत वर्ष उद्योगीले यसमा १० रुपैयाँ वृद्धि गर्दै ८० पुर्‍याए, तर यो वर्ष भने अहिले नै ९५ रुपैयाँ पुर्याएका छन् । उद्योगीहरु बढेको मूल्य स्वभाविक नै हो भन्छन् । तर उनीहरुको तर्क कमजोर छ । चिनी उत्पादक उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल भन्छन्, ‘सबै चिजको मूल्य बढ्दा चिनीको मूल्य किन नबढ्ने ?’

नेपालमा वार्षिक दुई लाख ८० हजार टन चिनी आवश्यक हुन्छ । गत वर्ष एक लाख ७५ हजार टन चिनी उत्पादन भएको थियो । अपुग चिनी भारतलगायत तेस्रो मुलुकबाट ल्याउनुपर्ने हुन्छ । तर भारतले गत वर्षदेखि नै चिनी निर्यातमा रोक लगाएको छ । सरकारले भारतसँग सम्झौता गरेर चिनी ल्याउन नसक्ने देखेपछि उद्योगीको मनोमानी बढेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

उद्योगीले चिनीमा कार्टेलिङ गरेको गुनासो बजार अनुगमन र नियमन गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा समेत पुगेको प्रवक्ता आनन्दराज पोखरेलको भनाइ छ । तर विभागले अहिलेसम्म कुनै कारबाही गर्न सकेको छैन ।

सरकारले भारतबाट चिनी ल्याउन नसकेपछि गएको दसैंमा दुई किलो चिनीका लागि उपभोक्ताले घण्टौं लाइन बस्नुपरेको थियो । सरकारी निकाय साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंअघि नै ५० प्रतिशत भन्सार छुट्मा १०/१० हजार टन चिनी ल्याउने अनुमति पाए पनि सकेका थिएनन् । सरकारी अकर्मण्यताका कारण उद्योगीले मनोमानी गर्दै चिनीमा कार्टेलिङ बढाएका छन् ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।