नेपालका रैथाने बिउ र बाली हराउँदै, विज्ञ भन्छन्- खाद्य सुरक्षामै असर

आयातित र हाइब्रिडको प्रयोगले ४० प्रतिशत कृषि आनुवंशिक स्रोत लोप भइसकेको अनुमान
माघ ५, २०८० |सुमन पन्थ
नेपालका रैथाने बिउ र बाली हराउँदै, विज्ञ भन्छन्- खाद्य सुरक्षामै असर

काठमाडौं । नेपालका सबै जिल्लामा जौं, फापर, जुनेलो, कोदो, मकैलगायत खेती गर्न सकिन्छ । यी खाद्यान्नमा पोषक तत्त्व पनि उच्च हुने विज्ञहरु बताउँछन् । तर, परम्परादेखि नेपालमा गरिँदै आएका कतिपय बालीको खेती भने कम हुँदै गएको छ । सरकारले नै नेपालका ४० प्रतिशत कृषि आनुवंशिक स्रोत लोप भइसकेको अनुमान गरेको छ ।

उच्च पोषक तत्त्व भएका नेपालका ४० प्रतिशत कृषि आनुवंशिक स्रोतहरु लोप भएको सरकारको अनुमान छ । आयातित र हाइब्रिड जातका बालीको प्रयोग बढेसँगै रैथाने बाली हराउन लागेका हुन् ।

‘प्रकृतिक रुपमा किसानले सदियौंदेखि गरिरहेको खेतीपातीमा जहिलेदेखि औपचारिक रुपमा सरकार छर्यो त्यसपछि उत्पादन वृद्धि गर्ने नाममा जसरी कृषि जैविक विविधतामाथि क्षयीकरण गर्यो । ध्वस्त बनायो र अहिले त्यसलाई पुनर्जीवित दिनका लागि राज्यको प्रयत्न सकारात्मक देखिन्छ,’ अगुवा किसान उद्धव अधिकारीले भने, ‘तर यो कर्मकाण्डले हामी कहीँ पनि पुग्दैनौं ।’

चामलमा भन्दा ३५ गुणा बढी क्याल्सियम कोदोमा पाइन्छ । तर, यसको उत्पादन निरन्तर घट्दो छ । ७७ वटै जिल्लामा उत्पादन गर्न सकिने भए पनि यसको उत्पादन ३ लाख २० हजार टनमा सीमित छ । वर्षमा झन्डै दुई करोडको कोदो आयात हुने गरेको छ । कतिपय बाली त जलवायु परिवर्तनको चपेटामा पनि परेका छन् ।

यसले मुलुकको खाद्य सुरक्षामै असर पार्ने चेतावनी विज्ञहरुले दिइसकेका छन् । यो असरबाट जोगिन पनि रैथाने बालीको संरक्षण सहयोगी हुन सक्छ । सोही कारण सरकारले रैथाने बालीको संरक्षणका लागि स्थानीय तहमार्फत किसानलाई अनुदानै दिएर कार्यक्रम सञ्चालन गरिएको दाबी गरेको छ ।

‘केही युवाहरुले रैथाने बालीलाई स्वस्फूर्त रुपमा संरक्षण त गर्नुभएको छ । सरकारले पनि प्रोत्साहन गरेको छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले भने ।

जैविक विविधताको हिसाबले नेपाल विश्वमा ४९औं स्थानमा छ । देशका कुल २४ हजार तीन सय प्रजातिमध्ये २८ प्रतिशत कृषिसम्बन्धीका प्रजाति हुन् । सदियौंदेखि खेती हुँदै आएका रैथाने बाली खाद्य तथा पोषण सुरक्षाका लागि पनि भरपर्दो स्रोत मानिन्छन् ।

सरकारले ‘राष्ट्रिय कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण एवं दिगो उपयोग’ भन्ने नाराका साथ बिहीबार कृषि जैविक विविधता दिवस मनाएको छ । दिवस मनाउनुका साथसाथै रैथाने बालीहरुको प्रवर्द्धन र बजार व्यवस्थापनमा अझ जोड दिए मात्र यसलाई बचाउन सकिन्छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।