रुपन्देही । काठमाडौंमा दर्ता भएर लुम्बिनी प्रदेशलाई कार्यक्षेत्र बनाएका अधिकांश सहकारीमा रकम अपचलन र बेथितिका गुनासा बढिरहेका छन् । त्यस्ता सहकारीले गैरसदस्यलाई बिनाधितो लगानी गरेर बचतकर्ताको करोडौं रकम जोखिममा पारेका छन् । आफ्नो कार्यक्षेत्र नभएको भन्दै सरकारी नियामक निकायसमेत तर्केपछि बचतकर्ताहरुको बिल्लीबाँठ भएको छ ।
ऐनबमोजिम सहकारीहरूले आफ्ना सदस्यलाई मात्रै ऋण प्रवाह गर्न पाउँछन् । तर, काठमाडौंमा दर्ता भएर बुटवलको राजमार्ग चौराहमा कारोबार गर्दै आएको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले गैरसदस्यलाई विनाधितो ऋण प्रवाह गर्दै आएको थियो । धेरै ब्याज दिने भन्दै बचतकर्ताहरुलाई पनि तानिरहेको थियो । तर, पछिल्लो समय विनाधितो मिटर ब्याजमा लगानी गरेका सहकारीका सञ्चालकहरुले ऋण लगानी नउठेको भन्दै बचतकर्तालाई पैसा फिर्ता नगरेको बचतकर्ता इन्द्रध्वज मल्ल र दीपक ज्ञवालीको भनाइ छ ।
सुप्रिमले करिब ५० कर्मचारी परिचालन गरी रुपन्देही र कपिलवस्तुका मुख्य सहर र ग्रामीण क्षेत्रबाट दैनिक बचत संकलन गर्दै आएको थियो । त्यसमध्येको करिब १ अर्ब १५ करोड रुपैयाा गैर सदस्यलाई विना धितो लगानी गरेको थियो । सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलका व्यवस्थापक ओम गुरुङ ऋण लगानी नउठेपछि तत्काल बचतकर्तालाई पैसा फिर्ता गर्न समस्या भएको दाबी गर्छन् ।
सुप्रिमजस्तै काठमाडौंमा दर्ता भएर रुपन्देहीमा सञ्चालित कल्पवृक्ष, शिवशिखर, आगन्तुक, सार्थक, स्टारलगायत एक दर्जन सहकारीमा रकम अपचलनको समस्या आएको छ । सहकारीहरुले समयमा बचतकर्ताको बचत फिर्ता नदिएको, सम्झौताअनुसार ब्याज नदिएको, रकम निकाल्न नपाएको, सञ्चालकहरु बेखबर भएकोलगायत गुनासासहित सहकारी संघमा उजुरी दिएका छन् ।
संघीयता कार्यान्वयनसँगै सहकारी दर्ता स्थानीय तहमा र अनुगमनको जिम्मा प्रदेश सरकारमा आएको छ । कार्यक्षेत्र मिचेर सञ्चालन भएका र सदस्यहरुबाट ठगिएको गुनासा आएका सहकारीको अनुगमन र कारबाहीबारे यी निकाय मौन छन् ।