यस्तो छ राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षा (पूर्णपाठसहित)

मंसिर २२, २०८० |कान्तिपुर टीभी संवाददाता
यस्तो छ राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षा (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने रणनीतिका साथ मौद्रिक नीतिको समीक्षा गरेको छ । राष्ट्र बैंकले बैंकहरुले सापटी लिने नीतिगत दर १ प्रतिशत बिन्दु र बैंक दरलाई शून्य दशमलव पाँच प्रतिशत घटाएको छ । 

नयाँ नीतिले राष्ट्र बैंकबाट बैंकहरुमा जाने पैसाको ब्याजदर घट्न र बैंकको लागत कम गर्न सहयोग पुग्नेछ । तर, अहिले बैंकहरुले राष्ट्र बैंकबाट सापटी लिएका छैनन् । बरु बैंकहरुबाटै राष्ट्र बैंकले नै पैसा उठाइरहेको छ । अबका दिनमा कर्जाको माग बढेपछि बैंकहरुको लागत कम पर्ने र त्यसले ब्याजदर घटाउने देखिन्छ । 

नियतवश कर्जा नतिर्नेहरुका लागि नभई परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने पनि राष्ट्र बैंकले बताएको छ । ऋणीहरूले बैंकमा निवेदन दिएर बाँकी ब्याजको १० प्रतिशत रकम बुझाएपछि आगामी चैतसम्म कर्जा पुनर्संरचना गर्न सकिने व्यवस्था गरिएको छ । 

 ब्याजलाई सावामा थप्न मात्रै हैन कर्जाको किस्ता तिर्ने समय पनि बढाउन सकिनेछ । लघुवित्तका ऋणीहरूले पनि निवेदन दिएमा कर्जा पुनर्संरचना गरिने राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको छ । 

गत कात्तिकमा गएको भूकम्पका कारण जाजरकोट तथा रुकुम लगायत जिल्लामा क्षति भएका घरको पुनर्निर्माणको लागि २५ लाखसम्म आधार दरमा २ प्रतिशत थपेर मात्रै ऋण दिनुपर्ने व्यवस्था गरिएको छ । 

भूकम्पका कारण क्षति भएका विद्यालय र सार्वजनिक अस्पतालमा बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ४० प्रतिशतसम्म त्यहाँ खर्च गर्न सक्ने व्यवस्था गरिएको छ । ५० लाखसम्मको सेयर कर्जा जोखिम भार घटाएर १ सय २५ प्रतिशत कायम गरिएको छ । 

सम्बन्धित समाचार...

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement