
हेटौंडा । बागमती प्रदेश सरकारले दूधबाट पाउडर उत्पादन गर्ने प्लान्टको परीक्षण उत्पादन पूरा गरेको छ।
प्रदेश सरकारको ४७ करोड ३३ लाख रुपैयाँ लागतमा निर्माण गरेको प्लान्टले परीक्षण उत्पादनका क्रममा ४५ सय लिटर दूधबाट ३५० किलो पाउडर दूध उत्पादन गरेको हो । दैनिक ६० हजार लिटर दूधबाट दैनिक ५ टन पाउडर दूध उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्डमार्फत २०७७ सालमा पाउडर प्लान्ट निमार्णको सुरुवात गरेको थियो । एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदारले विभिन्न कारण देखाउँदै दुईपटक म्याद थप गरेको थियो ।
प्लान्ट निर्माणको जिम्मा पाएको इजिइन्फ प्रालिले कात्तिक मसान्तसम्म प्रदेश दुग्ध विकास बोर्डलाई उक्त प्लान्ट हस्तान्तरण गरिसक्नुपर्नेछ । पाउडर प्लान्ट सञ्चालनमा आएपछि बागमती प्रदेशमा किसानले झेल्नुपरेको मिल्क होलिडे अन्त्य हुने प्रदेश सरकारको बुझाइ छ ।