बैंकहरुमा थुप्रियो ५ खर्ब रुपैयाँ, लगानीकर्ता भन्छन्- ऋण पाएनौँ

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
बैंकहरुमा थुप्रियो ५ खर्ब रुपैयाँ, लगानीकर्ता भन्छन्- ऋण पाएनौँ

काठमाडौं । बैंकहरुमा ५ खर्ब रुपैयाँ थुप्रिएको छ । तर जलविद्युत् क्षेत्रका लगानीकर्ताले भने बैंकबाट ऋण नै पाउन नसकेको गुनासो गरेका छन् ।

२६ सय ३० मेगावाट बराबरका १ सय ८ वटा आयोजना विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरी लगानी जुटाउने चरणमा छन् । यसमध्ये १ हजार मेगावाट बराबरका आयोजनाका लगानीकर्ताले बैंकमा पुग्दा सहजै ऋण नपाएको गुनासो गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा आम मानिसले बचतका रूपमा ५९ खर्ब ६ अर्ब जम्मा गरेका छन् । यसको ९० प्रतिशतसम्म बैंकहरुले लगानी गर्न पाउँछन् । तर अहिलेसम्म बैंकहरुले जम्मा ८१ प्रतिशत मात्रै गरेका छन् । अर्थात् लगानी गर्न सकिने ५ खर्ब बराबरको रकम बैंकमै थुप्रिएको छ । 

यही बेलामा जलविद्युत् आयोजनाका लगानीकर्ता भने आयोजना निर्माणका लागि रकम जुटाउन नसकेर बैंकहरु चहारिरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले जनाएको छ ।

सस्तो ब्याजदरमा ऋण दिनुपर्ने र लामो समय आम्दानी पनि नाफामा देखाउन नपाइने भएपछि बैंकहरुको यसमा चासो कम हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले गत फागुनमा निर्माण अवधिमा रहेका आयोजनाबाट ब्याज आम्दानीलाई नाफाका रूपमा बाँढ्न नपाइने व्यवस्था गर्‍यो । 

यसअघि आयोजनालाई दिएको ऋणबाट बैंकहरुले सो ऋण र अवधि बराबरको ब्याज रकम छुट्याएर अर्को खातामा राख्थे । तर, यसरी प्राप्त भएको ब्याज नाफामा बाँड्न नपाइने भनेपछि बैंकका कर्मचारीहरूले लगानी गर्ने चाहना राखेको देखिँदैन ।

बैंकहरुले कुल कर्जाको १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । अहिले बैंकहरुले ऊर्जा क्षेत्रमा ३ खर्ब १४ अर्ब बराबरको लगानी गरिसकेका छन् । जुन कुल कर्जाको ६ प्रतिशत मात्र हो । बाँकी ४ प्रतिशत लगानी गर्न पनि बैंकहरुले थप दुई खर्ब ऋण दिनुपर्ने देखिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.