‘कोसेली बजार’ बन्दै पाँचथरको राँके बजार

मंसिर १, २०८० |लक्ष्मी गौतम
‘कोसेली बजार’ बन्दै पाँचथरको राँके बजार

पाँचथर । राजमार्गको दायाँ-बायाँ रहेका पसलमा चिटिक्क पारेर सजाइएका रैथाने उत्पादन पाँचथरको राँके बजारको मुख्य चिनारी हो । बजार भरी सजाइएका लेकाली जडीबुटी, दलहन र तेलहनसँगै फलफूल, अचार र सागसब्जीले यहाँ पुग्ने जो कोहीको ध्यान खिच्छ अनि केही न केही सामान किन्न प्रेरित गर्छ ।

केही वर्ष अघिसम्म राँके बजारलाई मानिसले हिउँद बर्खै हुस्सुले ढाक्ने अनि मुटु काम्ने गरी जाडो हुने सीमावर्ती बजारका रूपमा मात्रै चिन्थे । तर अहिले यहाँका किसान र व्यापारीमा व्यावसायिक ज्ञान बढेसँगै बजारको परिचय पनि बदलिँदै गएको छ । 

टाढा टाढाबाट आइपुगेका आन्तरिक र बाह्य पर्यटकलाई राजमार्ग दायाँबायाँ सजाइएका रैथाने उत्पादनले तान्छ । त्यही भएर यो बजारलाई कसैले कृषि बजार त कसैले कोसेली बजार भनेर पनि नाम दिन्छन् । यहाँको नौनी, घिउ, छुर्पी, कटुस, टिमुर, अकबरे खुर्सानीलगायतका उत्पादनले आफूहरूलाई तान्ने गरेको पोखराबाट यहाँ घुम्न आएका बलराम गिरी बताउँछन् ।

अचार बनाउन प्रयोग हुने चिम्फिङ, टिमुर र खानक्पादेखि अकबरे खुर्सानी, घीउ, छुर्पी, ललिपप, एभोकाडो, किबि, तामाको अचार, फलफूल, हरियो सागसब्जी, दलहनसँगै अन्य कोसेली छानीछानी किन्न पाइने भएकाले राँकेले पछिल्लो समय कोसेली बजारको पहिचान बनाएको हो ।

मेची राजमार्ग भएर इलाम, झापा हुँदै काठमाडौं र बाहिरी मुलुक जाने यात्रु, कर्मचारी र व्यापारसँगै ताप्लेजुङमा अवस्थित पाथीभरादेवीको दर्शन गरेर फर्केका तीर्थयात्रीले यहाँ आइपुगेपछि गाडी रोकेर रोजीरोजी सामान किन्ने गरेकाले बजार भरिभराउ रहन्छ ।

राँके बजार व्यवस्थापन समितिको तथ्यांकअनुसार यहाँ कृषि उपज र कोसेलीको कारोबार गर्ने ३० वटा पसल छन् । हरेक पसलमा दैनिक न्यूनतम १५ देखि ५० हजार रुपैयाँको सामान बिक्छ ।

किसान र व्यवसायीको सृजनशीलता र लगावले यो बजार गुलजार बनेको हो । राँकेले रैथाने बालीको उत्पादनलाई प्रवर्द्धन त गरेको छ नै किसान र व्यवसायीका लागि आय आर्जनको दिगो स्रोतका रूपमा पनि स्थापित भएको छ ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।