वीरगन्जको सुक्खा बन्दरगाह भन्सार विस्तार क्षेत्रको मुआब्जा वितरण अझै भएन

बन्दरगाहको काम प्रभावित पार्ने स्थानीय बासिन्दाको चेतावनी
कार्तिक ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
वीरगन्जको सुक्खा बन्दरगाह भन्सार विस्तार क्षेत्रको मुआब्जा वितरण अझै भएन

पर्सा । वीरगन्जस्थित सुक्खा बन्दरगाह भन्सार विस्तार क्षेत्रमा पर्ने जग्गाको मुआब्जासम्बन्धी स्थानीयको माग सरकारले अझै पूरा गरेको छैन । जसका कारण सुख्खा बन्दरगाहको कामकाज पुन: प्रभावित हुने भएको छ ।

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँचचौकीबीचको ६२ बिघा अधिग्रहण गर्ने क्रममा सरकारले समयमा मुआब्जा उलपब्ध नगराएको भन्दै स्थानीयले बन्दरगाहको मूलगेटमा असोज १४ गतेदेखि धर्ना दिएका थिए ।

जग्गा मुआब्जा सम्बन्धमा स्थानीयले राखेको माग तत्काल सम्बोधन गराउन सुक्खा बन्दरगाह भन्सार कार्यालयले प्रतिबद्धता जनाएपछि असोज २१ गतेदेखि धर्ना स्थगित भएको थियो । तर हालसम्म पनि उनीहरुले मुआब्जा पाएका छैनन् ।

‘त्यो निकासा समयमै हुन सकेन भने स्थानीय बासिन्दाले छठलगत्तै अर्को आन्दोलन गर्ने भन्नुभएको छ,’ सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जका सूचना अधिकारी सुशीलप्रसाद शर्माले भने, ‘त्यो आन्दोलन भए यो कार्यालयको राजस्व असुलीमा असर पर्छ । उद्योगीहरुले कच्चा पदार्थको पैठारी गर्न नपाए उद्योगहरु धाराशायी अवस्थामा जानसक्ने देखिन्छ ।’

असोजमा एक साता बन्दरगाहको कामकाज ठप्प हुँदा झन्डै सवा एक अर्ब रुपैयाँबराबरको राजस्व असुली प्रभावित भएको थियो । २०७३ पुस १७ गतेको संघीय सरकारको निर्णयले सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँचचौकी बीचको ६२ बिघा अधिग्रहण गर्ने प्रक्रिया अघि बढेको हो ।

त्यसमध्ये ४९ बिघाको करिब चार अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरण भइसकेको छ । बाँकी १३ बिघाको करिब दुई अर्ब ३६ करोड रुपैयाँ मुआब्जा वितरण हुन बाँकी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.