तनहुँमा वार्षिक १० टन मह उत्पादन, माहुरीपालनमा युवा पुस्ताको आकर्षण

कार्तिक २९, २०८० |प्रताप राना
तनहुँमा वार्षिक १० टन मह उत्पादन, माहुरीपालनमा युवा पुस्ताको आकर्षण

तनहुँ । महबाट राम्रो आम्दानी हुन थालेपछि तनहुँमा मौरीपालन पुस्तान्तण हुन थालेको छ । यहाँका युवाले बाबुले गर्दै आएको मौरीपालन पेशा अपनाएका मात्रै छैनन् आधुनिक मौरीपालन सिकेर राम्रो आम्दानीसमेत लिन थालेका छन् ।

तनहुँको शुक्लागण्डकी एक्लेखेतका ६६ वर्षीय मनबहादुर पुलामी मगरको दिन अझै पनि मौरीको रेखदेखमा नै बित्छ । रहरले मौरी पाल्न सुरु गरेका मनबहादुरले ०६५ सालदेखि यसलाई व्यावसायिक बनाएका छन् । बाबुको सिको गर्दै उनका छोरा सोमबहादुर पनि मौरीपालनमै सक्रिय छन् । उनीहरुले दश रोपनी भिरालो जग्गामा एकसय घार मौरी पालेर वर्षमा एक हजार किलोसम्म मह उत्पादन गर्छन् ।

तनहुँ, शुक्लाण्डकी नगरपालिकाका मनबहादुर पुलामीमगरले भने- ‘धेरै माग भयो भने माघ महिनामै अडर दिनु भन्छौँ । एक वर्षमा डेढ-दुई सय घारसम्म लैजान्छन् । बाउ-छोरा भएर सँगै काम गर्न पाउँदा झनै खुशी लागेको छ ।’

मनबहादुरका बाबुछोराजस्तै पछिल्लो समय तनहुँमा मौरीपालनलाई पारिवारिक व्यवसाय बनाउनेहरु बढ्दै गएका छन् । यसले मौरीपालनमा पुस्तान्तरणसमेत हुँदै गएको छ । सजिलो काम र कम मेहिनेतमा आम्दानी राम्रो हुने भएकाले मौरीपालनमा किसानको आर्कषण देखिन्छ ।

थप्रेक, दगाम, मेवाबारी, शम्जुर, बन्दीपुर, आबुखैरेनीको ऋषिङ्गमा किसानहरुले व्यवसायिक मौरीपालन गर्दै आइरहेका छन् । मौरिपालक किसानलाई स्थानीय तह र त्यहाा रहेको पशुपक्षी कार्यालयले आधुनिक घार निर्माण, मह प्रशोधन, बजारीकरणलगायतमा सरसहयोग र अनुदान दिन्छन् ।

तनहुँमा ३० हजार वटा घारमा मौरीपालन हुँदै आइरहेको छ भने वर्षेनी १० मेट्रिक टन मह उत्पादन हुनेगरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । 


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।