पोखराका तालमा मोती उत्पादन, पोखरी तथा जलाशयमा सिपी पाल्न सकिने

कार्तिक १६, २०८० |ऋषिकान्त पौडेल
पोखराका तालमा मोती उत्पादन, पोखरी तथा जलाशयमा सिपी पाल्न सकिने

कास्की । पोखराका तालहरूमा मोती उत्पादनको सम्भावनाबारे गरिएको परीक्षण सफल देखिएको छ । बेगनास तालस्थित मत्स्य अनुसन्धान केन्द्रले गरेको ६ वर्ष लामो अनुसन्धानबाट त्यहाँका तालमा सिपी खेती गरेर मोती उत्पादन गर्न सम्भव भएको हो । सन् २०१७ देखि बेगनासमा मोती उत्पादनका सम्बन्धमा गरिएको अनुसन्धान परिणाममुखी देखिएको छ ।

मोती उत्पादन गर्ने सिपी समुद्रमा मात्रै पाइन्छ भन्ने परम्परागत मान्यतालाई तोड्दै मत्स्य अनुसन्धान केन्द्र पोखराले त्यहाँका तालमा यसको खेती गर्नेसक्ने सम्भावनलाई प्रमाणित गरेको छ । माछा जस्तै पानीमा पाइने जीव सिपीबाट मोती उत्पादन गर्न सकिन्छ । झन्डै ६ वर्षको अनुसन्धानबाट यहाँका स-साना पोखरी तथा जलाशयमा सिपी पाल्न सकिने प्रमाणित भएको हो ।

अनुसन्धान केन्द्रका प्रमुख मोहम्मद इकवाल हुसेनले यस अनुसन्धानको सफलतासँगै अब पोखरा क्षेत्रमा माछापालन गर्ने किसानले सँगै मोती उत्पादन गर्न सकिने सिपीको पनि खेती गर्नसक्ने पुष्टि भएको बताए । ‘माछाको पालनसँगै सिपीमा मोती पालन पनि गर्यो भने एउटै पोखरीबाट एकदमै बढी आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘यसबाट किसानको आर्थिक अवस्था पनि बढ्न सक्छ ।’

व्यावसायिक सिपी पालन सुरु भएमा माछापालक कृषकले दोहोरो फाइदा लिनसक्नेछन् । हरियो तथा मलिलोपनयुक्त जलाशयमा सिपीको खेती राम्रो हुने भएकाले रूपाताल सबैभन्दा धेरै सम्भावनायुक्त ताल देखिएको छ ।

यो अनुसन्धानले नेपालका पहाड तथा तराईका प्राकृतिक जलाशयमा सिपी पालेर मोती उत्पादन गर्न सकिने देखिएको छ । तर त्यसअघि सिपीपालन गर्न चाहने किसानलाई पर्याप्त तालिम दिन जरुरी देखिएको छ ।

‘युवाहरुलाई सिपीबाट मोती बनाउने तालिम सरकारी तथा गैरसरकारी क्षेत्रबाट भए नयाँ आयमा थपिने महसुस गरेका छौं,’ पोखराका व्यवासयी दामोदरभक्त थापाले भने ।

एक हेक्टर मा २० हजार सिपी पालन गर्न सकिन्छ । सिपीलाई माछाकै आहारा दिन सकिन्छ । करिब १२ देखि १८ महिनासम्ममा मोती तयार हुन्छ ।

सिपीबाट मोती उत्पादन गर्न त्यसको बाहिरको आवरणभित्र आफूले खोजेको आकारको इमेज राखिन्छ । त्यही इमेजमा सिपीले मोती भर्छ । परीक्षणका क्रममा सिपीको मेन्टल केविटीमा सर्जरी गरेर इमेज राखी सिपीलाई साना थैलीमा बाँधेर पानीमा डुबाइएको थियो । त्यसरी राखिएको एक वर्षमा इमेज पर्ल र हाफ गोलाकार मोती पाइयो ।

मोती गरगहनाका साथै विभिन्न औषधिका लागि पनि प्रयोग हुन्छ । पछिल्लो समयमा भारत, बंगलादेश, चीन, जापान, भियतनामलगायत मुलुकमा सिपीपालनबाट मोती उत्पादन गर्ने चलन बढेको छ ।

एक दाना मोतीकै दुई हजार रुपैयाँसम्म पर्ने भएकाले यसको व्यावासायिक उत्पादनले आयआर्जन र जीवनस्तर वृद्धिमा ठूलो योगदान गर्नसक्ने देखिन्छ ।


Image

ऋषिकान्त पौडेल

पौडेल कान्तिपुर टीभीका कास्की संवाददाता हुन् ।