पर्सामा खुल्यो प्रांगारिक तथा जैविक मल कारखाना

कार्तिक १०, २०८० |माधुरी महतो
पर्सामा खुल्यो प्रांगारिक तथा जैविक मल कारखाना

पर्सा । बाली लगाउने समयमा रासायनिक मल नपाउनु आमकिसानको समस्या हो । किसानले मल अभावको समस्या भोग्नु नपरोस् भनेर पर्सामा प्रांगारिक तथा जैविक मल कारखाना खोलिएको छ । मलको अहिले वीरगन्जलगायत आसपासका क्षेत्र र पूर्वी तराईदेखि पश्चिमसम्मै माग बढ्दो छ ।

वीरगन्जको रामगडवामा ३ बिघामा रहेको क्याप्टन फार्म प्रालिले २५ करोडको लगानीमा प्रांगारिक मल कारखाना खोलेको हो । यो मलको अहिले वीरगन्जका आसपास क्षेत्र र पश्चिमसम्मै माग बढ्दो छ ।

बर्सेनि खेतीबाली लगाउने समयमा रासायनिक मल नपाउने समस्याले पिरोलिएका किसानका समस्या यो कारखानाले केही हदसम्म पूर्ति गरेको छ । गाईभैंसीको गोबर, जलकुम्भी, हरियो घाँसपात मिलाएर दुई फिटसम्म भरेर त्यसमा गड्यौला छोडेर मल तयार गरिन्छ । मल तयार हुन ४५ देखि ६० दिन लाग्ने गरेको छ । यसरी तयार गरिएको मललाई माटोमा मिसाइन्छ ।

‘पहिला हामीले रासायनिक मल प्रयोग गर्ने गरेका थियौं । आजभोलि त यही नै हाल्ने गरेका छौं,’ पोखरीयाका किसान राजन त्रिपाठीले भने । उत्पादन ५० प्रतिशत थप बढेको उनी बताउँछन् ।

‘पहिले-पहिले हामीले डीएपी र युरिया मल राखिरहेका थियौं । अहिले तीन वर्षजति भयो जैविक मल राखेको । अहिले हाम्रो बालीमा कुनै किसिमको रोग लागेको छैन । धनियाँ, काँक्रो, लसुन खाँदा स्वाद पनि बढेको छ,’ पर्सोनीका किसान गम्विरा महतोले भने ।

सिरसिया पर्साकी तैरुन खातुनले भारतबाट ल्याएको रासायनिक मल आफूहरुले खेतमा नराखेको जनाइन् । ‘हामीले अरु मल र भारतीय मल राखेका छैनौं । जैविक मल नै राख्ने गरेका छौं । अहिले तरकारीहरुको स्वादमा पनि फरक पाएका छौं,’ उनले भनिन् ।

समयमा रासायनिक मल नपाइने र जुन पायो त्यही मल प्रयोग गर्दा माटोको उर्वराशक्ति र मानिसको स्वास्थ्यमा समेत असर पारिरहेको थियो । यहाँ उत्पादित मलमा नाइट्रोजन, फोस्फोरस, आइरन र पोटासलगायत तत्त्व मिलाइएको हुनाले माटोको उर्वराशक्ति बढाउन तथा अम्लीयपन सुधार गर्न मद्दत पुग्ने र उत्पादन पनि बढ्ने कम्पनीको दाबी छ ।

‘माटोको उर्वराशक्ति बढेसँगै उत्पादन त त्यत्तिकै राम्रो हुन्छ,’ क्याप्टन फार्मका ताराप्रसाद गुप्ताले भने, ‘उत्पादन राम्रो भए उपभोक्ताको पनि आयु बढ्छ ।’

पर्सामा प्रांगारिक मलको उत्पादन गर्ने दुईवटा उद्योग मात्र सञ्चालनमा आएका छन् । अर्को एउटा सञ्चालनमा आउने क्रममा छ । यदि प्रांगारिक मल मागअनुसारको आपूर्ती हुन सके रसायनिक मलको प्रयोगको मात्रा घटाउन सकिने देखिन्छ । तर प्रांगारिक तथा जैविक मलको प्रयोग बढाउन सरकारी तवरबाट गरिएका पहल त्यति प्रभावकारी हुन सकेका छैनन् ।

तीनै तहका सरकारले किसानहरुलाई यसबारे प्रोत्साहित र जोड दिन सके उत्पादन पनि बढ्ने र किसानहरु मल डिपो तथा सरकारी कार्यालयमा भौंतारिरहनुपर्दैन थियो । 


Image

माधुरी महतो

महतो कान्तिपुर टेलिभिजनकी पर्सा संवाददाता हुन् ।