किसानलाई धान भित्र्याउने चटारो

कार्तिक ५, २०८० |रासस
किसानलाई धान भित्र्याउने चटारो

बागलुङ । नेपालीको घर आँगनमा दसैं भित्रिएको छ । टाढा-टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् । गाउँमा भने किसानलाई धान भित्र्याउने चटारो छ ।

खेतभरी पहेंलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीर किसानलाई छ । आकाशमा बादल मडारिँदा किसान चिन्तत हुन्छन् । यति बेला पश्चिम बागलुङका किसानलाई दसैं मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ । दसैं र धान भित्र्याउने समय एकैपटक पर्दा किसानलाई चाडबाडको भन्दा खेती स्याहार्ने चटारो बढी छ ।

गत असारमा लगाइएको धान असोज अन्तिम सातासम्म भित्र्याउने समय भए पनि निरन्तरको वर्षाले खेतमै थियो । निसीखोला गाउँपालिका ४ का केशर पौडेलले अब वर्षा भए धान बालीमा ठूलो क्षति हुने भएकाले भित्र्याउन भ्याइनभ्याइ भएको जनाए । असोज २९ गतेसम्म ठूलो वर्षा भएकाले धान भित्र्याउन नसकिएको किसानले बताएका छन् । केही दिनदेखि पानी नपरेकाले खेताला लगाएर धान काट्ने र भित्र्याउनतर्फ लागेको उनको भनाइ छ । मार्सी जातको धान छिटो पाकेको छ ।

‘यस वर्ष अलि ढिला दसैं आयो, पोहोर-परार त यतिबेला तिहार आउँथ्यो, दसैं सकेर धान भित्र्याउथ्यौं, पानीले पनि त्यत्ति धेरै दुःख दिएको थिएन, अहिले त धान काट्ने बेला ठूलो वर्षा भयो, केही दिन भयो पानी परेको छैन त्यही भएर धेरै किसानहरु धान काट्ने र भित्र्याउनमा व्यस्त छन्,’ उनले भने, ‘अब बारीमा गहुँ पनि छर्ने समय भयो, एकैपटक धेरै काम गर्नुपर्छ, यो समय कामकै चटारो हुने भएको हुँदा दसैं पोहोर-परार सालको जस्तो फुर्सदिलो नहुने भयो ।’

अर्का किसान नीमबहादुर क्षेत्रीले असोज दोस्रो साता धान काट्ने तयारी गरेको तर वर्षाका कारण रोकिएको बताए । पानी बिदा (वर्षा रोकिनु) भएका बेला अर्मपर्म गरेर धान काट्न थालेको उनले सुनाए । धान काटेको दुई दिनमा छाँट्ने र भित्र्याउने भएको हुँदा धेरै किसान यतिबेला खेतमा व्यस्त भएको क्षत्रीको भनाइ छ । यस वर्ष समयमै वर्षा भएकाले धान पनि राम्रो उत्पादन भएको भन्दै समयमै नभित्र्याए असिनाले नोक्सान गरिदिन सक्ने उनी बताउँछन् ।

निसीखोला क्षेत्रमा अन्य ठाउँको तुलनामा छिटो रोपाइँ हुने हुँदा धान असोज दोस्रो साता नै पाक्ने गर्छ । यहाँका किसानले मार्सी, जडन, जेठो बुढोलगायत जातका धान लगाउने गर्दछन् । जडन जातको धान अलि ढिला पाक्ने किसानको भनाइ छ । बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टरमा धान रोपाइँ भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर ६ हजार हेक्टरमा रोपाइँ भएको छ । जिल्लामा ४६ हजार १४८ हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये ३० हजार पाँच सय २३ हेक्टरमा मात्रै खेती हुँदै आएको छ । यसमध्ये ६ हजार १४८ हेक्टरमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २०.१५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा छ । बाह्रैमहिना सिञ्चित क्षेत्र दुई हजार ७७५ हेक्टर छ ।