सिन्धुपाल्चोक । चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट कारोबार बढ्न थालेको छ । भदौदेखि नै नेपाली व्यवसायीले चीनबाट दसैंका लागि आवश्यक सरसामान आयात बढाएसँगै भन्सारको कारोबार बढेको हो । यो नाकाबाट दसैं तिहारलक्षित फलफूल आयातसमेत बढेको छ ।
अहिले तातोपानी नाकाबाट दसैंको सामान बोकेर दैनिक ३० कन्टेर सामग्री भन्सार जाँचपास भइ काठमाडौं भित्रिने गरेका छन्। सुख्खा बन्दरगाह भन्सार यार्डमा अझै कन्टेनरहरु जाँचपासको पर्खाइमा छन् ।
नेपाली व्यवसायीले अर्डर गरेको सामग्री सहज तरिकाले भित्रिन थालेपछि नाकामा चिनियाँ सामग्रीको गोदाम नै बनेको छ ।
ट्रान्स सिल्क ग्रुपका संयोजक विजय शेर्पा भन्छन्, ‘जाडोका कपडा, जुत्ता, चप्पल, तिहारका सामानहरु, विद्युतीय सामाग्रीहरु चीनबाट आइरहेका छन् । यो दसैंमा तातोपानी नाकाबाट सामानहरु सहजरुपमा आएका छन् ।’
दसैं लक्षित गरी आयात
२०७२ सालको भूकम्पपछि केही वर्ष नाका बन्द नै भयो । कोरोना महामारी फैलिएपछि फेरि नाका असहज बन्यो यसले विगत केही वर्षदेखि दसैंमा सामान नाकामै रोकिँदा व्यापारी र उपभोक्ताले समस्या भोग्नुपरेको थियो ।
आठ वर्षपछि सार्वधारणका लागि पनि नाका खुला भएपछि यो वर्ष भने नाकाबाट दसैंको सामान आपूर्ति हुनथालेको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ भन्छन्, ‘बढीमा २० दिनमा सामान काठमाडौं पुग्ने भएकाले छिटो र सस्तो हुन्छ । यो रुटबाट व्यवसायीले सामान ल्याइरहेका छन् र अब ल्याउँछन् पनि ।’
पछिल्लो समय तातोपानीमा आपूर्ति केही सहज भएको भन्सार कार्यालयको दाबी छ । तातोपानी नाका भएर चीनबाट दसैं तिहारजस्ता ठूला चाडपर्वलक्षित जुत्ता, चप्पल, रेडिमेड कपडा, विद्युतीय समानसहित ऊन तथा सबैभन्दा बढी फलफुल भित्रिएको छ ।
सिन्धुपाल्चोक तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी भन्छन्, ‘समान ल्याउँदा कुनै बाधा आएको मेरो सूचनामा छैन । समानहरु आइरहेकै छन् । ५० प्रतिशतको चाहिँ स्याउनै आयात हु्ने गरेको छ ।’
राजस्व बढ्यो
गत वर्षको ६ महिनामा संकलन भएको राजश्व चालु आर्थिक वर्षको असार र साउन महिनामै संकलन भएको भन्सार कार्यालयले जनाएको छ । यो दुई महिनामा एक करोड ६२ लाख राजश्व उठेको हो ।
गत वर्षको तुलनामा यो वर्ष मासिक लक्ष्यभन्दा १ सय ७० प्रतिशतले राजस्व संकलन बढेको छ । यसरी नै आयात निर्यात सहज भएमा भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्नसक्ने देखिएको छ ।
साथै, नाकाबाट मानव आवतजावत खुला हुँदा तातोपानी क्षेत्रका होटल लजहरूमा समेत चहलपहल बढेको छ ।