प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई प्राथमिकतामै परेन, कार्यान्वयन प्रतिबद्धतामै सीमित

आश्विन ९, २०८० |सुबिन्द्र श्रेष्ठ
प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई प्राथमिकतामै परेन, कार्यान्वयन प्रतिबद्धतामै सीमित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका क्रममा चीनले बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) कार्यान्वयनको विषय अघि बढाउने अपेक्षा गरेको थियो । तर नेपालले बीआरआई कार्यान्वयनलाई प्राथमिकतामै नराख्दा प्रधानमन्त्रीको भ्रमणमा यो विषय ओझेलमा परेको छ । प्रधानमन्त्रीले भ्रमणको प्राथमिकतामा नराख्दा नेपालले बीआरआई कार्यान्वयनमा अनिच्छा देखाएको भन्दै टिप्पणी हुन थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका क्रममा नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्यमा बीआरआई कार्यान्वयन योजना चाँडो टुग्याउने सहमति भएको उल्लेख छ । तर कार्यान्वयनको मोडालिटीबारे कतै स्पष्ट पारिएको छैन । त्यति मात्र नभएर भविष्यमा हुने छलफलबाट यो विषय टुंगो लगाउनु भन्नुको अर्थ प्रधानमन्त्रीको उच्चस्तरीय भेटवार्तामा बीआरआईले प्राथमिकता नै नपाएको अर्थ लगाईँदै छ । संयुक्त वक्तव्यले दाहालको यो औपचारिक भ्रमण जति हल्लाखल्ला गरे पनि सद्भावनामै सीमित भएको र चीनबाट प्राप्त गर्न सकिने ठूला अवसरहरु हासिल नभएको पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीको दाबी छ ।

नेपालले यसअघि बीआरआईअन्तर्गतका ९ वटा आयोजना अघि बढाउने बताउँदै आएको थियो । त्यसको सूची पनि चीनलाई उपलब्ध गराइसकेको थियो । अहिले प्रधानमन्त्रीको भ्रमणका क्रममा ती आयोजना अघि बढाउने स्पष्ट मोडालिटी बनाउने अपेक्षा गरिएपछि परियोजनाको ठोस र योजनाबद्ध छलफल नभएको चीन मामिला जानकार सुन्दरनाथ भट्टराई बताउँछन् ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनसँग ऊर्जा, सीमापास प्रसारणलाइन, सबस्टेसन निर्माणलगायत विषयमा सम्झौता भए । तर चीनको महत्त्वाकांक्षी योजना बीआरआई कार्यान्वयनले महत्त्व नै पाएन । बीआरआई परियोजना ठोस रुपमा अगाडि नबढाउनुले नेपालको अनिच्छालाई नै पुष्टि गरेको छ ।


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।