काठमाडौं । सरकारले दसैं, तिहार र छठलाई लक्षित गर्दै असोज २१ गतेदेखि देशैभर सहुलियत (सुपथ मूल्य) पसल सञ्चालन गर्ने भएको छ । मंसिर ३ गतेसम्म चल्ने यस्ता सुपथ मूल्य पसल ४२ जिल्लाका ४८ स्थानमा सञ्चालन हुने भएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार अत्यावश्यक खाद्य वस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्यसाथ सहुलियत पसल सञ्चालन गरिन लागेको हो ।
सुपथ मूल्य पसल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सञ्चालन गर्नेछन् । सुपथ मूल्य पसल काठमाडौंको थापाथली र रामशाहपथमा चल्नेछ । यस्तै ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।
सुपथ मूल्य पसलमा चामल, दाल, पिठो तथा कर्णालीका सिमी, गेडागुडी, फापरलगायत खाद्यान्न १० प्रतिशत छुटमा उपलब्ध हुनेछ ।
यस्ता पसल मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा सञ्चालन हुनेछन् । यस्तै दुग्ध विकास संस्थानका लैनचौर, न्युरोड र खुमलटारमा दुग्धजन्य पदार्थ सहुलियत मूल्यमा पाइनेछ ।