कुलेश्वरमा ७० हजार किलो चिनी राखिएको गोदाममा वाणिज्य विभागको सिल

आश्विन ८, २०८० |कान्तिपुर टीभी संवाददाता
कुलेश्वरमा ७० हजार किलो चिनी राखिएको गोदाममा वाणिज्य विभागको सिल

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको कुलेश्वरस्थित चिनी गोदाम सिल गरेको छ ।

कुलेश्वरस्थित गुन्जेश्वरी ट्रेड लिंक प्रालिले लुकाएर राखेको ७० हजार किलो चिनीको गोदाममा विभागले सिल गरेको हो । चाडबाडका बेला कालोबजारीको मौका छोप्न चिनी लुकाएर राखिएको विभागको आशंका छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, नापतौल विभाग र वाणिज्य विभागले गरेको संयुक्त अनुगमनमा उक्त गोदाममा ठूलो परिणाममा चिनी भेटिएको हो ।

उचित ढंगले भण्डारण नगरिएको तथा चिनीमा लेबलसमेत नभएको विभागले जनाएको छ। विभागका अधिकारीहरुका अनुसार गुन्जेश्वरी ट्रेड लिंकले दुई महिनामा २७ लाख किलो चिनी बेचेको बिलसमेत भेटिएको छ। चिनी लुकाउन कृत्रिम कारोबार देखाइएको आशंकामा पनि विभागले अनुसन्धान गरिरहेको छ । यस्तै, अखाद्य वस्तु मिसावट गरिएको आशंकामा विभागले चिनीको गुणस्तर परीक्षणका लागि प्रयोगशाला पठाएको वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिए ।

उक्त फर्मले उद्योगहरुबाट सस्तोमा खरिद गरी काठमाडौंमा बिल बिजकविनै महँगो मूल्यमा खरिद गरेको उजुरी परेपछि विभागले छापा मारेको थियो । दुई साता अघिसम्म ११० रुपैयाँ किलोमा बिक्री भइरहेको चिनी पछिल्लो समय १४० रुपैयाँ किलोसम्म पुर्‍याइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.