नेप्से ५.८९ अंकले घट्दा कारोबार रकम डेढ अर्बमै खुम्चियो

आश्विन ८, २०८० |कान्तिपुर टीभी संवाददाता
नेप्से ५.८९ अंकले घट्दा कारोबार रकम डेढ अर्बमै खुम्चियो

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) नेप्से ५.८९ अंकले घटेको छ । योसँगै कारोबार रकम पनि झन्डै डेढ अर्बमै खुम्चिएको छ ।

आइतवार १९.४२ अंक गिरावट आएको नेप्से सोमबार ५.८९ अंकले घट्दै २,००४.४५ विन्दुमा रोकिएको छ । त्यस्तै, सेन्सिटिभ इन्डेक्स १.९४ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.४२ अंक र सेन्सिटिभ फ्लोट इन्डेक्स ०.७३ अंकले घटेको छ ।

सोमबार कारोबारमा आएका २८४ कम्पनीको ६५ लाख १६ हजार कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकममा गिरावट आएको छ । आइतबार दुई अर्बभन्दा बढीको सेयर किनबेच भएका थिए ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक घटेको छ । दुई उपसमूहको सूचक बढेको छ । जसमा जलविद्युत् र म्युचुअल फन्ड उपसमूहको सूचक सामान्य बढेको छ । त्यस्तै, लगानी उपसमूहको सूचक ०.९५ प्रतिशत घट्दा बाँकी अन्य उपसमूहका सूचक ०.९५ प्रतिशतभन्दा कमले घटेका छन् ।

सोमबार तीन कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । जसमा माई खोला हाइड्रोपावर, एसियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भए ।

कारोबार रकमका आधारमा सोमबार सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । यसको सात करोड ६८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.