चिनीको मूल्य एक सातामै किलोमा २० रुपैयाँले बढ्यो

आश्विन २, २०८० |कान्तिपुर टीभी संवाददाता
चिनीको मूल्य एक सातामै किलोमा २० रुपैयाँले बढ्यो

काठमाडौं । चाडपर्वका बेला व्यापारीले चिनीको मूल्य बढाएका छन् । बजार अनुगमन गर्ने वाणिज्य विभाग नेतृत्वविहीन भएको मौका छोपेर व्यापारीले एक सातामै चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले बढाएका हुन् ।

एक साता अघिसम्म ११० रुपैयाँ प्रतिकिलो रहेको चिनीको मूल्य अहिले १३० रुपैयाँ पुगेको छ । खुद्रा बजारमा त व्यापारीले १४० रुपैयाँसम्म लिन थालेका छन् । यही बेला सरकारले बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक र आपूर्ति व्यवस्थापन शाखा प्रमुखको सरुवा गरेको छ । सरकारले आज मात्र विभागमा महानिर्देशक पठाएको छ । बजार अनुगमनसमेत हुन नसक्दा अराजकता बढेको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले आरोप लगाएका छन् ।

नेपालमा वार्षिक १४० हजारदेखि १८० हजार टन चिनी उत्पादन हुन्छ । माग भने दुई लाख ८० हजार टन छ । अपुग एक लाख टन आयात हुने गरेको छ । व्यापारीले अवैध रुपमा आयात गरेर मनपरी मूल्य लिएको हुनसक्ने चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालको भनाइ छ ।

चाडपर्वका बेला बजार हस्तक्षेप गर्न भन्दै सरकारले ५० प्रतिशत भन्सार छुटमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १०/१० हजार टन चिनी आयातको अनुमति दिएको छ । तर सरकारले दिएको अनुमतिपत्र सम्बन्धित निकायमा पुगेको छैन । यी निकायले चिनी आयात गर्न ठेक्का आह्वान गर्दा नै कम्तिमा १५ दिन लाग्छ । तत्काल प्रक्रिया अघि बढाउँदा पनि दसैंसम्म चिनी आयात हुन्छ या हुँदैन भन्ने एकीन छैन । यो अवस्थाले प्रधानमन्त्री पुष्पकमल दाहालले बजार मर्यादित बनाउने भनेर दिएको अभिव्यक्तिकोसमेत खिल्ली उडाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.