म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङका स्याउमा रङ चढेको र स्वादमा गुलियोपन भरिँदै गएपछि बजारमा आउन थालेको छ । गाला, किङरोट जातका छिटो पाक्ने उच्च घनत्वमा आधारित (हाइडेन्सीटी रहेको हाईब्रिड) स्याउ बजारमा आउन थालेको हो ।
अहिले बजारमा फुजी, जोनाप्रिन्स, गोल्डेन डेलासिस जातका हाइडेन्सीटी रहेको हाईब्रिट स्याउ टिप्न र बजारमा पठाउन थालिएको छ । रिफ्याक्ट्रोमिटरबाट मापन गर्दा मापदण्डअनुसार गुलियोपना आएकोले स्याउ बजार पठाउन थालिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ जोन कार्यालय मुस्ताङले जनाएको छ ।
स्वादमा कहलिएका मुस्ताङको स्याउ देश तथा विदेशमा प्रख्यात छ । मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवार, टुक्चे, जोमसोम, कागवेनी, पाक्लिर, लुप्रा, ताम्बेलगायत गाउँमा स्याउको खेती छ । जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धि हुँदा मुस्ताङको उपल्लो भेगमासमेत स्याउ फल्न थालेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) काअनुसार जलवायु परिवर्तनले स्याउ फलेपछि तयार हुन लाग्ने समय घटेको छ । स्याउको स्वाद परिपक्क हुन लाग्ने ४२ दिन (चिलिङ टेम्प्रेचर) घटेर ३६ दिनमा झरेको छ । फल पाक्न चिलिङ टेम्प्रेचरमा जति बढी समय लियो, स्याउ त्यति गुणस्तरी हुन्छ ।
विगतका वर्षहरुमा भदौ दोस्रो सातादेखि नै स्याउ टिप्ने गरिएकामा गुणस्तर कम भएको गुनासो आएपछि यसवर्ष बोटमै राम्रोसँग पकाएर असोज लागेपछि मात्र टिप्न सुरु गरिएको हो ।
स्याउ जोन कार्यालयले मुस्ताङका पुराना र ढिलो पाक्ने गोल्डेन, रोयल, रेड डेलिसियस, रिचारेड र फुजीमा पनि स्वादको गुणस्तर देखिएकाले असोज सुरुदेखि बजार पठाउन थालिएको जनाएको छ । यो वर्ष प्रतिकूल मौसमको कारण स्थानीय जातका स्याउ उत्पादन १५–२० प्रतिशतसम्म कमी हुने अनुमान गरिएको छ ।
जोन कार्यालय मुस्ताङकाअनुसार मुस्ताङमा एक हजार पाँच सय ८० रोपनी क्षेत्रफलमा स्याउ खेती गरिएको छ । स्याउ खेती भएकामध्ये ३८ रोपनी क्षेत्रफलमा उच्च घनत्वमा आधारित पाँच जातका स्याउको खेती भइरहेको छ ।
मुस्ताङमा १४ दशमलव २ मेट्रिकटन प्रति हेक्टर उत्पादकत्व रहेको छ । गत वर्ष पाँच हजार ६ सय मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्री भएको थियो । यसबाट ७२ करोड रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष आठ हजार मेट्रिकटनभन्दा बढी स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ ।