
काठमाडौं । निरन्तरको झरी र राष्ट्रिय राजमार्गहरूमा गएको पहिरोले नियमित आपूर्ति नहुँदा काठमाडौंमा सबैजसो तरकारीको मूल्य बढेको छ ।
कालिमाटी थोक व्यवसायी संघका अनुसार तरकारीको मूल्य औषत ३५ प्रतिशतले बढेको छ । थोक बजारमै गोलभेडा र काउलीको मूल्य प्रतिकिलो १ सय १० रूपैयाँ पुगेको छ । गत हप्तासम्म यी तरकारीको मूल्य ६५ देखि ७० रूपैयाँमा हाराहारी थियो । लगातार पानी परेपछि किसानले आलु खन्न नपाउँदा अघिल्लो हप्ता प्रतिकिलो ६० रूपैयाँमा पाइने नेपाली आलुको मूल्य अहिले बढेर एक सय रूपैयाँ पुगेको छ । भारतीय तरकारीको पनि आपूर्ति कम भएको छ । उपभोक्ताले भने आपूर्ति कम भएको बहानामा व्यवसायीले मनोमानी गरेको बताएका छन् ।
गत हप्तासम्म प्रतिकिलो ८० रुपैयाँमा बिक्री भएको घ्यू सीमी शनिबार एक सय रूपैयाँमा कारोबार भयो । काठमाडौंमा दैनिक १२ सय टन तरकारी खपत हुने गरेको छ । तर लगातारको झरीका कारण ४ सय टन मात्र आउने गरेको छ ।