पर्यटकको आकर्षणमा भीरमौरीको मह शिकार

असार १६, २०८० |भुपाल गुरुङ
पर्यटकको आकर्षणमा भीरमौरीको मह शिकार

पोखरा । देख्दै आङ नै सिरिङ्ग हुने चट्टानी भीरमा तुर्लुङ्ग डोरीमा झुन्डिएर मह शिकार गरेको दृश्य रोचक र साहसिक छ । 

परम्परागत सामग्री र सिपको प्रयोग गरी मह सिकार गरेको त्यही साहसिक दृश्य हेर्न आन्तरिक र बाह्य पर्यटकहरू पश्चिमी पहाडका गाउँहरूमा पुग्छन् । पछिल्लो समय कास्कीको माछापुच्छ्रे गाउँपालिकाले भीर मौरीको मह सिकारलाई साहसिक गतिविधिमा राखेर पर्यटक आकर्षित गर्ने योजना नै बनाएको छ ।

पोखरादेखि हेम्जा, सिदिङ हुँदै करिब २५ किलोमिटरको सवारी यात्रा र डेढ घण्टा पैदल हिँडेर कोप्रेभीर पुगिन्छ । भीरमा झुन्डिएर मह काढेको दृश्य हेर्न पोखराबाट नजिकै पर्ने भएकाले वडा नम्बर ९ ले मर्दी खोलाको सिरानपट्ट सिदिङको कोप्रेभीरलाई अवलोकनस्थलका रूपमा विकास गरेको छ। 

मह काढेको रोचक र साहसिक दृश्य मार्दी हिमाल पदमार्ग र माछापुच्छ्रे नमुना पदमार्गमा आउने पर्यटकले समेत अवलोकन गर्न पाए । सयौँ सङ्ख्यामा स्थानीय र पर्यटकहरू त्यही पुगे । सिदिङको वनमा बग्रेल्ती मह भीर भए पनि पर्यावरणीय सन्तुलन कायम राख्न कोप्रेभीरको मात्रै मह वर्षमा दुई पटक काढ्ने गरिन्छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले वडा नम्बर ९ कोप्रेभीरमा मह काढ्न यस वर्ष बजेट विनियोजन गरियो । त्यसो त यहाँका स्थानीय युनाइटेड सिदिङ युवा क्लबले मह काढ्न महोत्सव नै आयोजना गर्‍यो । गाउँका आठ जनाको भिरौटे टोलीले दुई दिनसम्म मह काढे । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना स्थापनापछि भीरमा मह काढ्न टेन्डर हुने गरे पनि यस वर्षदेखि भने गाउँपालिकाको संयोजनमा स्थानीयले मह काढेका छन् ।

स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवर्द्धक हुनुका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भीरमहको माग उच्च छ । तर पछिल्लो समय मानवीय क्रियाकलापका कारण भीरमौरी लोप हुन थालेका छन् । सरकारले भीर मौरी सम्बन्धी नीति तथा योजना बनाएर व्यवस्थित गर्न सके राम्रो आम्दानीको स्रोत मात्रै हैन पर्यटन प्रवर्द्धन समेत हुने छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement