अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेटलाई अन्तिम रुप दिने चटारो

जेष्ठ ९, २०८० |कान्तिपुर टीभी संवाददाता
अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेटलाई अन्तिम रुप दिने चटारो

काठमाडौं । जेठ १५ मा बजेट सार्वजनिक गर्ने तयारीमा रहेको अर्थ मन्त्रालय बजेट भाषणलाई अन्तिम रुप दिने चटारोमा छ । बजेटसहितका बिकासे आयोजनाबारे मन्त्रालयले टुंगो लगाइसकेको छ भने नीतिगत व्यवस्था भने जेठ १४ सम्म समावेश गर्ने मन्त्रालयले जनाएको छ ।

संविधानको धारा ११९ को उपधारा ३ मा सरकारले जेठ १५ मै बजेट संसद्‌मा पेस गर्नुपर्ने व्यवस्था छ । यसैअनुसार अहिले अर्थ मन्त्रालय विभिन्न सरोकारवाला निकायको सुझावसमेत समेट्दै बजेट भाषणको मस्यौदा तयार गर्दै छ । त्यस्तै यो वर्षको आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानको रिपोर्ट भने छाप्नका लागि छापाखानामा पठाइसकेको छ । आर्थिक ऐन र बजेट भाषण भने मन्त्रालयले जेठ १४ मा टुंगो लगाएर मात्रै छापाखानामा पठाउने गरेको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए ।

सरकारले वैशाख २४ मा बजेटको प्राथमिकता तथा सिद्धान्त र जेठ ५ मा नीति तथा कार्यक्रम संसदमा पेस गरिसकेको छ । नीति तथा कार्यक्रमलाई राष्ट्रियसभाले पास पनि गरिसकेको छ । बजेटका प्राथमिकता र सिद्धान्त तथा नीति कार्यक्रमसँग मेल खाने गरी सरकारले बजेट भाषणको मस्यौदालाई अन्तिम टुंगो लगाउन भने बाँकी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.