गहुँका ४ नयाँ जातको विकास, गाँज र दाना ठूलो

जेष्ठ ९, २०८० |भुवन पाण्डे
गहुँका ४ नयाँ जातको विकास, गाँज र दाना ठूलो

भैरहवा । विगत ६३ वर्षमा नेपालमा गहुँका ५४ वटा नयाँ जात विकास भएको छ । कृषि वैज्ञानिकहरूले गरेको एक दशक लामो अनुसन्धानपछि यो वर्ष गहुँका चारवटा नयाँ जातको विकास भएको हो । पछिल्लो समय विकास भएका नयाँ जातको उत्पादकत्व राम्रो रहे पनि किसानमाझ पुर्‍याउन भने तीनै तहका सरकारले तदारुकता देखाएका छैनन् ।

राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमले लामो अनुसन्धानपछि तराईका लागि एनएल १४-४६ र बीएल ४८-१८ तथा पहाडका लागि एनएल ११-७९ र एनएल १४-८८ नाम दिएर गहुँको नयाँ जात विकास गरेको छ । गाँज राम्रो लाग्ने र दाना ठूलो हुने भएकाले विकास गरिएका नयाँ जातको उत्पादकत्व राम्रो हुनुका साथै रोगकीरा अवरोधी रहेको दाबी कृषि वैज्ञानिकहरूको छ । बीएल ४८-१८ क्रस गरेर विकास गरिएको हो भने अन्य जात पाँचदेखि १२ वर्ष लामो अनुसन्धानपछि विकास भएका हुन् ।

राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रम रूपन्देहीका वरिष्ठ कृषि वैज्ञानिक दीपक पाण्डेका अनुसार यी जातहरुमा सिन्दूरे रोग सहने विशेषता छ ।

गहुँको जात विकास भएपछि त्यो किसानमाझ सिफारिस हुन्छ । खेती गर्दै जाँदा केही वर्षपछि जातीय गुणमा ह्रास आउँछ । नयाँ रोगकीराको आक्रमणले उत्पादन घट्दै जान्छ । त्यसैले नयाँ जात विकास गरिरहन जरुरी छ । कृषि वैज्ञानिकहरूका अनुसार जात विकास गर्दा माटो, हावापानीअनुकूल, रोगकीरा सहनसक्ने गरी अनुसन्धान हुन्छ । नेपालका २० वटा अनुसन्धान स्थलमा गहुँको नयाँ जातको विकास गर्न अनुसन्धान हुनेगरेको छ ।

‘राष्ट्रको खाद्य सुरक्षालाई टेवा पुग्ने सहयोगका लागि हामीले बढी उत्पादन दिने खालका साथै रोगप्रतिरोधी, कीरा नलाग्ने खालका जातहरुमा हामीले ध्यान दिएका हुन्छौं,’ राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रम रूपन्देहीका प्रविधिक अधिकृत राजेन्द्रप्रसाद यादवले भने ।

दुई वर्षअघि पनि पहाडका लागि खुमलशक्ति, भेरीगंगा र हिमगंगा तथा तराईका लागि जिंक गहुँ १, जिंक गहुँ २ र बोर्लग २०-२० सिफारिस भएका छन् । यी जातमा जिंक र आइरनको मात्रा बढी छ । उत्पादन र उत्पादकत्वसँगै रोगकीराको संक्रमणदर कम छ । तर, अहिलेसम्म नयाँ जात किसान माझ पुग्नसकेको छैन । न त विस्तारमा तीन तहकै सरकारले रुचि देखाएका छैनन् ।

वार्षिक २१ लाख टन गहुँ उत्पादन हुने नेपालमा करिब चार लाख टन बाह्य मुलुकबाट आयात हुन्छ । नयाँ जात किसानमाझ पुर्‍याउन सके तथा मलखाद र सिचाइँको उचित व्यवस्था भए गहुँमा आत्मनिर्भर हुन सकिने कृषि वैज्ञानिकको दाबी छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement