कोल्टी विमानस्थलको धावनमार्ग मर्मत जारी

जेष्ठ ९, २०८० |कान्तिपुर टीभी संवाददाता
कोल्टी विमानस्थलको धावनमार्ग मर्मत जारी

बाजुरा । उत्तरपूर्वी बाजुराको कोल्टीमा रहेको विमानस्थलको धावनमार्ग मर्मतको काम जारी छ ।

६ वर्षअघि कालोपत्रे गरिएको धावनमार्ग उप्किन थालेपछि मनकामना निर्माण सेवा काठमाडौंले धावनमार्ग कालोपत्रे, फेन्जिङ मर्मत, कलरिङको काम गरिरहेको हो । विमानस्थलमा जहाज उडान-अवतरण सहज बनाउन कालोपत्रेसँगै पार्किङको काम पनि भइरहेको रहेको छ । मर्मत सकिएलगत्तै हवाई सेवा नियमित हुने विमानस्थल प्रमुख श्रीकृष्ण रिजालले जानकारी दिएका छन् ।

पाँच सय ४० मिटर लम्बाइ र २० मिटर चौडा रहेको कोल्टी विमानस्थलमा १८ देखि २२ जनाको सिट क्षमता रहेका जहाजहरुले उडान भर्ने गरेका छन् । विमानस्थलको धावनमार्गमा जहाज अवतरण गर्दा निरन्तर समस्या दिँदै आएका खाल्डाहरु पुर्ने र धावनमार्गको कालोपत्रेसँगै कलरिङ गरेर मर्मत भइरहेको छ ।

सुदूर तथा कर्णाली प्रदेशको एकमात्रै जहाज अवतरणका लागि सुरक्षित स्थानका रुपमा कोल्टी विमानस्थल मानिन्छ । यही बाटो हुँदै रारा, बूढीनन्दा, बडीमालिका र खप्तडजस्ता पर्यटकीय क्षेत्रमा जान यो विमानस्थल मुख्य मार्ग भएकाले यस विमानस्थलमा राज्यले आवश्यक लगानी गर्न जरुरी रहेको नागरिक समाजले जनाएको छ ।

कोल्टी विमानस्थलमा नेपालगन्ज र धनगढीबाट बाजुरा, हुम्ला, मुगु र कालीकोटका स्थानीयले सुरक्षित र सहज यात्रा गर्ने गरेका छन् । कोल्टी विमानस्थलमा हाल नेपाल वायुसेवा निगम, तारा, मकालु, सीता र गोमाका ट्विनेटर जहाजले उडान भर्ने गरेको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.