‘बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धराशायी हुन्छ’

चैत्र ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
‘बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धराशायी हुन्छ’

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धराशायी हुनसक्ने जनाएका छन् ।

नेपाल-इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बिहीबार उनले सरकारले बैंकको ब्याजदर तत्काल एकल अंकमा नल्याए मुलुकको अर्थतन्त्र थप धराशायी हुने दाबी गरे । उनले बैंकको ब्याजदर कम नभए उद्योग व्यवसाय पनि फस्टाउन नसक्ने पनि जनाए ।

अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र थप अफ्ठ्यारोमा पर्न नदिन सरकारले फास्ट ट्रयाकमा ब्याजदर कम गर्नुपर्ने धारणा राखे । उनले आर्थिक ऐन नबन्दा र नीतिगत सुधार नहुँदा उधारो कारोबारले थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण बढ्दै गएको जनाए । बजारमा तरलता अभावको कारण उद्योगी व्यवसायीको आर्थिक संकट निस्तेज पार्न डिजिटलाइजेसन र नगद कारोबारमा जानुपर्ने आवश्यकता रहेको औंल्याए । उनले बैंकहरुले लिने कर्जाको प्रिमियम दरमा समेत व्यवसायीहरु माथि पक्षपात गरिरहेको आरोप पनि लगाए ।

‘यो ब्याजको दर घटाउनुपर्छ । बेस रेटमा लिने प्रिमियर पनि लाखापाखा भएका छन्, ठूलालाई चैन, सानालाई ऐन भएको छ । कसैलाई त्यही बेसरेटमा प्रिमियम हाफ प्रतिशत हुने, कसैलाई ५,६ प्रतिशत हुने, कसरी उद्योग व्यवसाय फस्टाउँछ । बेस्ट रेटमा लिने प्रिमियमलाई २ प्रतिशतमा लगाउनुपर्छ, त्यसले नै ब्याजदर घटाउँछ,’ उनले भने, ‘बेसरेटमा पनि देशको माटो सुहाउँदो व्यवस्था गरेमा बेस रेट पनि घट्छ । यसका लागि सरकारले आज गरौंला, भोलि गरौँला भनेर हुँदैन । हामीले दिन गन्दा गन्दै मुलुकको अर्थतन्त्र झनै धराशायी हुनसक्छ । अमेरिकाका केही बैंकहरु बन्द भए त्यसको कारण के रहेछ भन्दा एक्कासि ब्याजदर बढ्नु रहेछ । हामीसँग पनि ब्याजदर बढेको छ, उद्योगी व्यवसायीले तिर्न सकेको छैन ।’

उनले नेपालको आर्थिक ऐन र नीतिगत सुधार नहुँदा आज उधारो कारोबारले गर्दा थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण रहेको पनि जनाए । ‘बजारमा जाँदा पैसा आउँदैन । त्यो कारणले बैंकलाई पनि संकट, उद्योगी व्यवसायीलाई पनि संकट, यस किसिमको संकट निस्तेज पार्नको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्छ । आउने आर्थिक ऐनमा, आउने बजेटमा हामीले ल्याउनैपर्छ ।’

उनले नेपालमा इटालीको आवासीय राजदूतावास बन्न नसक्दा दुई देशबीचको व्यापार विस्तार हुन नसकेको दाबी गरे । सरकारले दुई देशबीच व्यापार बढाउन इटालीका आवासीय दूतावास नेपालमा खोल्न पहल गर्नुपर्ने अध्यक्ष मल्लको धारणा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.