सरोकारवालाको ध्यान नजाँदा रुकुम पश्चिममा बर्सेनि बिउ उत्पादन घट्दै (भिडियो रिपोर्ट)

चैत्र ४, २०७९ |महेश केसी
सरोकारवालाको ध्यान नजाँदा रुकुम पश्चिममा बर्सेनि बिउ उत्पादन घट्दै (भिडियो रिपोर्ट)

रुकुम पश्चिम । न्यानो पहाडी हावापानी भएकाले तरकारीको उन्नत बिउ उत्पादनका लागि रुकुम पश्चिम जिल्लालाई कणार्ली क्षेत्रकै अब्बल मानिन्छ । तर प्राविधिक ज्ञान तथा उत्पादित बिउको बजारीकरण हुन भने नसकेको किसानको गुनासो छ ।

रुकुम पश्चिमका विभिन्न भेगका खेतबारी यतिबेला उन्नत तरकारीको फुलले मनमोहक देखिएका छन् । मुसीकोट नगरपालिकाको माछिमी, साधनचौर, चौतारा र लोरिबाङलगायत क्षेत्रका प्रायः किसानले कम्तिमा १ रोपनीदेखि १५ रोपनी खेतमा तरकारीको उन्नत बिउको खेती गरिरहेका छन् । यससँगै चौरजहारी नगरपालिका, त्रिवेणी, सानीभेरी र बाफिकोट गाउँपालिकाका विभिन्न वडाका किसानहरुले पनि प्याज, मुला, काउली, रायो, चम्सुर, सिमी, केराउ र सलगम आदि विभिन्न तरकारीको उन्नत बिउ बर्सेनि उत्पादन गर्छन् ।

जिल्लाको करिब ४ सय १४ हेक्टर क्षेत्रफलमा यो वर्ष तरकारीको उन्नत बिउको खेती गरिएको छ । समुद्री सतहबाट ७ सय ५४ मिटरदेखि ६ हजार ७२ मिटर उचाईमा रहेको यो जिल्लामा समशीतोष्ण हावापानी रहेका कारण बिउ उत्पादनका लागि यो भेग उपयुक्त मानिन्छ ।

प्रतिकुल हावापानीका कारण तरकारीको उन्नत बिउ उत्पादन गर्न किसानलाई सहज भएको छ । तर घट्दो जनशक्ति, प्राविधिक दक्षताको अभाव र सरकार तथा सरोकारवालको पर्याप्त सहयोग नहुदाँ बर्सेनि बिउ उत्पादन भने घटिरहेको तथ्यांकले देखाएको छ ।

रुकुम पश्चिमका किसानले उत्पादन गरेको उन्नत बिउ स्थानीय ठेकेदारमार्फत ताजा तरकारी उत्पादनका लागि विभिन्न एग्रोभेट हुँदै बजारसम्म पुग्ने गरेको छ । बिउको उत्पादन र गुणस्तरमा वृद्धी तथा बजारीकरणका लागि स्थानीय सरकारसँगै प्रदेश र संघका सम्बन्धित कार्यालय तथा सरकोवालाको थप तदारुकता भने जरुरी छ ।

तरकारीको उन्नत बिउ उत्पादनका लागि आवश्यक पर्ने मुल बीउको उत्पादन मुसिकोट-४ चापामा रहेको तरकारी बिउ उत्पादन केन्द्रमा गर्ने गरिएको छ । यसले गर्दा स्थानीय कृषकलाई सहज भएको छ भने यहाँको मुल बिउ देशका विभिन्न जिल्लामासमेत निर्यात हुने गरेको छ। 


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।