अदुवाले मूल्य नपाएपछि तनहुँका किसान मारमा

चैत्र ३, २०७९ |प्रताप राना
अदुवाले मूल्य नपाएपछि तनहुँका किसान मारमा

तनहुँ । अदुवाले मूल्य नपाएपछि तनहुँका किसान मारमा परेका छन् । दैनिक घर खर्च चलाउनका लागि सस्तोमा नै अदुवा बिक्री गर्न उनीहरू बाध्य छन् ।

तनहुँ भिमाद ३ माझकोट पिपलभज्याङकी ५२ जमुना थापाको मुख्य आम्दानीको स्रोत अदुवा हो । अदुवाबाट हुने आम्दानीले उनीले घर चलाउँदै  आए पनि यस वर्ष अदुवाको उचित मूल्य नपाए पछि सस्तोमा नै बिक्री गर्न उनी बाध्य भएकी छिन् ।

तनहुँका अधिकांश किसानको मुख्य आम्दानी स्रोत नै अदुवा हो । अदुवाबाट जीवन गुजारा चलाएका यहाँका किसान मूल्य नपाउँदा घर व्यवहार चलाउन नै समस्या भएको छ । केही किसान भने सस्तोमा अदुवा बिक्री गर्न भन्दा पनि घरेलु विधिमा अदुवालाई सुठो बनाउन थालेका छन् ।  

बजारमा प्रतिकेजी अदुवा ६० रुपैयाँमा पाउने अदुवा किसानले प्रति धार्नी ६० रुपैयाँमा बिक्री गर्न बाध्य छन् । कृषि ज्ञान केन्द्रले अदुवाको क्षेत्र विस्तार गरे पनि मूल्य नपाउँदा किसान मारमा परेका हुन् । 

तनहुँमा यस वर्ष ५ सय १२ हेक्टर क्षेत्रफलमा ७ हजार ५ सय मेट्रिक टन अदुवा उत्पादन हुने अनुमान छ । माझकोट, राम्जाकोट, अरुदोय, भिरकोट, बैदी, साभुङभगवतीपुर लगायतका ठाउँ अदुवा खेतीको पकेट क्षेत्रको रूपमा परिचित छ ।


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।