रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द भएको डेढ महिना पुग्न लाग्यो । फेरि कहिलेदेखि सञ्चालनमा आउने हो, टुङ्गो छैन । उडान नभएपछि कर्मचारी कामविहीन भएका छन् । विदेशी ऋणमा बनाइएको विमानस्थलको सञ्चालन खर्च भने बढेको बढ्यै छ ।
अन्तर्राष्ट्रिय उडान सुरु हुनुअघि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३२ जना स्थायी र १७ जना सेवा प्रदायक जनशक्ति गरी ४९ जना कर्मचारी थिए । अहिले यस विमानस्थलमा १ सय ४५ जना स्थायी, करार र सेवा प्रदायक कर्मचारी छन् भने ७२ जना ज्यालादारी कर्मचारी छन् ।
जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुस ३ यता उडान हुन सकेको छैन ।
यस बाहेक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका क्रममा आवश्यक पर्ने भन्सार, अध्यागमन, पारवहन तथा गोदाम, बैंक, सुरक्षासम्बन्धी गरी १६ वटा कार्यालय स्थापना भएका छन् । उडान रोकिएपछि ती कार्यालयका कर्मचारी कामविहीन छन् ।
गएको जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुरु भएको विमानस्थलमा पुस ३ यता उडान हुन सकेको छैन । मध्यरातमा कुवेतका लागि उडान अवतरण गर्ने जजिराले प्रतिकुल मौसमका कारण एयर भिजिबिलिटीमा समस्या आएको भन्दै उडान रोकेको हो । दिनको समयमा मलेसिया चार्टर उडान भर्दै आएको हिमालय एयरलाइन्सले मौसम अनुकूल हुँदासमेत उडान सुरु गरेको छैन । हुन त माघ १९ गते देखि उडान नियमित गर्ने जजिराले जनाएको छ तर, यसअघि पनि उडान तालिका सार्दै आएकाले उडान हुनेमा निश्चित छैन ।
अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूले उडान गर्न रुचि देखाएका छैनन् ।
प्रतिकुल मौसममा उडान अवतरण गर्न मिल्ने इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम जडान भए पनि भारतसँग अनुमति नलिएकाले त्यो प्रयोगविहीन छ । उद्घाटन भएको सात महिनामा यहाँबाट १ सय ५५ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । जसबाट १३ हजार ४ सय ६६ यात्रु आएका छन् भने १७ हजार ९ सय १ जना यात्रु विदेश प्रस्थान भएका छन् । त्यसो त नागरिक उड्डयन प्राधिकरणले असुल गर्ने अवतरण शुल्क, बिसान दस्तुर, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा शुल्कमा १ वर्षका लागि शतप्रतिशत छुट दिएको छ ।
नेपाल वायुसेवाले असुल गर्ने ग्राउन्ड हेण्डलीङ सेवा शुल्कमा पनि १ वर्षका लागि ५० प्रतिशत छुट दिइएको छ । तर, पनि अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न रुचि देखाएका छैनन् । अन्तर्राष्ट्रिय विमान प्रवेशका लागि हवाई मार्ग लामो पर्ने र सिधा नभएकाले पनि विमान कम्पनीहरूले अनिच्छा देखाएका हुन् ।
सरकारले विलम्ब नगरी भारतसँग कूटनीतिक पहल गरेर वैकल्पिक हवाई मार्गको अनुमति लिनुपर्ने अहिलेको आवश्यकता हो । अन्यथा, एसियाली विकास बैंकको साढे ७ अर्ब ऋणसहित कुल साढे ३० अर्बको लागतमा बनेको यो विमानस्थलले सिंगै देशलाई ऋणमा नडुबाउला भन्न सकिँदैन ।
यो पनि...