ताप्लेजुङ । हिमाली तथा पहाडी जिल्लाका उच्च क्षेत्रमा मात्रै उत्पादन हुने चिराइतोले बजारमा आकर्षक मूल्य पाउँदै आएको छ । यसवर्ष प्रतिक्वीन्टल एक लाख रुपैयाँसम्ममा चिराइतो बिक्री भएपछि पूर्वी उच्च पहाडी जिल्लाका किसान उत्साहित भएका छन् ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ४ इखाबुका किसान धनबहादुर लाबुङले दुई वर्षपछि सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बराललाई ७८ हजार क्विण्टलले चराइतो बिक्री गरे । कोरोना संक्रमण, चीनसँगको नाका बन्द जस्ता कारण २० हजारमा झरेको यसले अहिले राम्रो मूल्य पाएको हो ।
चीन र भारतमा बिक्री हुने चिराइतो यो वर्ष प्रति क्विण्टल एक लाखसम्ममा बिक्री भएको छ । नेपालमा उत्पादित चिराइतोले प्राप्त गरेको यो अहिलेसम्मको सबैभन्दा बढी मूल्य हो । पहाडका १७ देखि ३५ सय मिटर उचाइमा हुने चिराइतो जंगलमा फल्ने बनस्पती प्रजातीमा पर्छ । पहिला आफैं उत्पादन हुने यो जडिबुटी पछिल्ला वर्ष किसानले दाना छरेर फलाउने गरेका छन् । दाना छरेको २८ महिनामा उखेल्न सकिने यसको डाँठदेखि पातसम्म उपयोगी हुन्छ ।
ताप्लेजुङमा मात्रै वार्षिक १६ क्विण्टल उत्पादन हुने चिराइतो हरेक पहाडी जिल्लामा उत्पादन हुन्छ । रक्तचाप घटाउने लगायतको प्रयोजनका लागि घरेलु उपचारको रुपमा पनि यसको प्रयोग हुने गरेको छ ।