धनुषा । मधेस प्रदेशमा पाँच वर्षअघिसम्म भारतबाट माछा आयात हुन्थ्यो । माछा उत्पादनमा आत्मनिर्भर बनेको यो प्रदेशले निर्यातसमेत गर्न थालेको छ। सरकारी अनुदान र बजारमा बढ्दो माछाको मागकै कारण धेरै किसान परम्परागत खेती छाडी व्यावसायीक मत्स्यपालनमा लागेका छन् । देशको कुल उत्पादनको ६० प्रतिशतभन्दा बढी माछा मधेस प्रदेशमा उत्पादन हुने गर्दछ ।
राम्रो आम्दानी हुन थालेपछि मधेश प्रदेशका किसान मत्स्यपालनप्रति आकषिर्त हुन थालेका छन् । किसानहरु धान, गहुा, र तेलहनजस्ता परम्परागत खेती छाडेर व्यावसायीक मत्स्यपालनमा लागेका हुन् ।
स्थानीय किसान कन्हैया मुखिया भन्छन्, ‘माछामा फाइदा नहुने होइन, फाइदा भइरहेकै छ । तर अलिकति किसानहरुमा प्राविधिक ज्ञानको कमी हुँदा पूर्णरुपले फाइदा लिन सकेका छैनन् ।’
बजारमा माछाको माग अत्याधिक रहेको र आम्दानी पनि राम्रै हुने गरेकाले मधेश प्रदेशमा ७ हजार ७ सयभन्दा बढी हेक्टर जलासयमा व्यावसायीक माछा उत्पादन हुँदै आएको छ । बर्सेनि नयाँ पोखरी निर्माणको क्रम पनि बढ्दो छ । योसँगै निर्यात गरिनुका साथै स्थानीय बजारमा उपभोक्ताले जिउँदो र सस्तो माछा पाउन थालेका छन् ।
देशभर उत्पादन हुने गरेको ७३ हजार ९ सय मेट्रिक टन माछामध्ये मधेश प्रदेशमा मात्र बर्सेनि झण्डै ११ अर्ब ५० करोड बराबरको ४० हजार मेट्रिक टन माछा उत्पादन हुने गर्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार लुम्बिनी प्रदेशमा १५ हजार ६ सय ६ र सबैभन्दा कम कर्णाली प्रदेशमा ७४ मेट्रिक टन माछा उत्पादन हुने गर्छ । माछा उत्पादनले मधेशमा आर्थिक वृद्धिका साथै सामाजिक सुधार पनि ल्याएको छ ।
पोषिलो स्वादिष्ट माछाका लागि प्रख्यात र चाँडै फस्टाउने क्षमता भएकाले व्यावसायीक मत्स्य पालनका लागि भारतका विभिन्न जिल्लाका किसानलेसमेत यहाँका भुरा किनेर लैजाने गरेका छन् ।