काठमाडौं । राप्रपाका संस्थापक तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेपाली साहित्य र भाषाप्रति युवापुस्ताको चासो घट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
शुक्रबार काठाडौंमा आयोजित ‘बदलिदोँ समयचक्र’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री चन्दले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।
आजभोलिका केटाकेटीहरू अंग्रेजी अक्षर सिक्ने तर आफ्नै नेपाली वर्णमाला र साहित्यप्रति आकर्षण नदेखाउने प्रवृत्ति देखिएको उहाँको भनाइ छ । उहाँले नेपाली भाषाको प्रवर्द्धन र संरक्षणमा ध्यान नदिए नेपाली साहित्य नै समाप्त हुने चिन्ता आफूलाई रहेको बताउनु भयो ।
पूर्वप्रधानमन्त्री चन्दले सिर्जनात्मक लेखन र पाठन संस्कृतिलाई प्रवर्द्धन गर्न आधुनिक माध्यमहरूलाई पनि उपयोग गर्न सकिने बताउनु भयो । उहाँले नेपाली साहित्य र भाषा संरक्षणका लागि सबैले आफ्नो तहबाट महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको बताउनु भयो ।