काठमाडौं । नेपाल सरकारका पूर्वसचिव पद्मप्रसाद पोखरेलको आत्मकथा ‘खण्डखण्डमा जिन्दगी : जिज्ञासा र अनुभवको इतिवृत्त’ को लोकार्पण गरिएको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा एक विशेष समारोहबीच देशका प्रतिष्ठित साहित्यकार, पत्रकार, प्राज्ञ तथा प्रशासकलगायतको उपस्थितिमा कृति सार्वजनिक गरिएको हो ।
कार्यक्रममा डा. रामवरण यादवले आत्मकथाको लोकार्पण गर्नुहुँदै 'पद्मप्रसाद पोखरेलजस्तो इमानदार र विवेकशील प्रशासकको जीवन कथा पुस्ता-पुस्ताका लागि प्रेरणा बन्न सक्ने बताउनुभयो ।
आत्मकथा केवल व्यक्तिगत वृत्तान्त मात्र नभइ त्यो समयको सामाजिक, प्रशासनिक र बौद्धिक दस्तावेज रहेकाले लेखकलाई शुभकामना दिनुहुँदै यस्ता कृतिहरूले समाजलाई अझ गहिरो समझदारी दिन सक्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
लेखक पद्मप्रसाद पोखरेलले सबै अतिथिहरूप्रति आभार प्रकट गर्नुहुँदै पुस्तक आफ्नो भोगाइ र अनुभूतिहरूको प्रतिविम्व भएको तर आफ्नो जीवनलाई कुनै विशेषताको दाबी गर्दै लेखेको नभएर लेखनले आफ्नो जीवन पुनरावलोकन गर्ने अवसर मिलेको बताउनुभयो ।
उहाँले कृतिले कसैलाई केही सोच्न प्रेरित गर्छ भने लेखन सफल भएको ठहर्ने विश्वास व्यक्त गर्नुभयो । वरिष्ठ पत्रकार किशोर नेपालले पोखरेलको जीवनलाई ‘बोल्न नसकेका हजारौँ प्रशासनिक आवाजको प्रतिनिधि’ भन्दै आत्मकथाको ऐतिहासिक महत्वमाथि जोड दिनुभयो ।
कवि तथा मुख्यसचिव डा. विमल कोइरालाले पोखरेलसँगको ४० वर्ष लामो प्रशासनिक सहकार्य र मित्रताको स्मरण गर्नुहुँदै पोखरेल जीवनभर अनुशासन, इमान, सरलता र पारदर्शिताको पर्याय बनेकाले पोखरेलको आत्मकथाले यिनै मूल्यलाई प्रतिविम्वित गर्ने बताउनुभयो ।
प्रकाशक संस्था 'भुँडीपुराण प्रकाशन’का अगुवा केशव पराजुलीले प्रकाशन प्रक्रियाका अनुभव सुनाउनुहुँदैे कृति प्रकाशन गर्नु प्रकाशन संस्थाका लागि मात्र नभएर समस्त पाठकसमुदायको लागि गर्वको विषय बन्न सक्ने धारणा राख्नुभएको छ ।
समारोहमा पत्रकार तथा समालोचक डा. बालचन्द्र मिश्रले कृति तयार पार्ने क्रममा लेखकसँगका संवाद र अनुभवहरू सुनाउनुहुँदै आत्मकथा केवल कथा नभएर एक यथार्थपुस्तक रहेकाले जहाँ सरकारी सेवाशैली, प्रशासनिक संघर्ष र व्यक्तिगत अन्तद्वन्द्वहरू कुशल रूपमा प्रस्तुत गरिएको बताउनुभयो ।
प्रा.डा. शान्तिकृष्ण अधिकारीले पुस्तकमाथि समीक्षात्मक दृष्टिकोण राख्नुहुँदै यसलाई ‘एक गम्भीर पाठकको लागि गहकिलो पाठ’ भएको बताउनुभयो । उहाँले पोखरेलको भाषाशैली, आत्मविश्लेषण र घटनासँगको वस्तुगत प्रस्तुति स्पष्ट पार्नुभएको थियो ।
कवि तथा पत्रकार मणि लोहनीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा लेखककी जेठी छोरी प्रमीला खनालले बाबुको संघर्षपूर्ण जीवन र लेखन यात्राबारे स्मरण गर्नुभएको थियो ।
पुस्तक भुँडीपुराण प्रकाशनले छापेको पुस्तकको सम्पादन पत्रकार पारश प्रकाश नेपालले गर्नु भएको हो । प्रकाशनका अनुसार एक हजार एक सय मुल्य रहेको ‘खण्डखण्डमा जिन्दगी’ देशभरका पुस्तक पसलहरूमा उपलब्ध छ ।