लोक संस्कृति संरक्षणका लागि बुटवलका महिलाहरू मादल बजाउनेतर्फ केन्द्रित

जेष्ठ ८, २०८२ |अमृता अनमोल
लोक संस्कृति संरक्षणका लागि बुटवलका महिलाहरू मादल बजाउनेतर्फ केन्द्रित

बुटवल । मादललाई मगर जातिको बाजा पनि भनिन्छ । तर, पछिल्लो समय सबै लोकगीत, भजन, नाचगान र धार्मिक कार्यहरूमा मादल अनिवार्य जस्तै बनेको छ । लोक संस्कृतिको संरक्षण र व्यवसायिकताका लागि बुटवलका महिलाहरू मादल बजाउन सिकिरहेका छन ।

गीत अनुसार मादलको ताल मात्र होइन, मादलको ताल अनुसार गीत गाउन अभ्यास पनि गरिरहेका छन । कुनै समय थियो । पुरूषहरू मादल लगायतका वाद्यवाधन बजाउँथे । महिलाहरू गीत गाउँथे । त्यही गीत र मादलको तालमा महिलाहरू छमछमी नाच्थे । अहिले समय फेरिएको छ । बुटवलका धेरै महिलाहरू यसैगरी आफैले मादल लगायतका वाद्यवाधनका साधन बजाउन थालेका छन ।

मादल नेपाली लोक संगीतको सबैभन्दा सजिलो र अपरिहार्य वाद्यवाधन हो । विवाह, जात्रा, पूजा, नाचगान जहाँ-जहाँ नेपाली लोकसंस्कृति पुग्छ । मादल त्यही गुन्जन्छ । तीजका गीत हुन् वा भजन कृतन । बिहेमा नाच्ने रत्यौली नै किन नहोस् । यी महिलाहरू हरेक सास्कृतिक पर्वमा आफैले मादल बजाएर रमाइलो गर्न र व्यवसायीक बन्न चाहन्छन् ।

मादल लगायत वाद्यवाधनप्रति महिलाको रूची बढेपछि यसवर्ष बुटवल उपमहानगरपालिकाले ७ वटा वडामा वाध्यवादनको तालिम संचालन गर्यो । महिलाहरूलाई वाध्यवाधदनको सीप सिकाएर संस्कृति संरक्षण र आर्थिक रूपमा आत्मनिर्भर बनाउने उपमहानगरको योजना छ ।

मगर समुदायबाट प्रचलनमा आएको मादल अहिले देशभरका सबै जातजाति र समुदायमा लोकप्रिय छ । मादलसँगै हार्मोनियमप्रतिको क्रेज पनि बढिरहेको छ । घरभित्रकै काममा सीमित यी महिलाहरूले मादल लगायत वाद्यवाधनको सीपलाई व्यवसायीक बनाउन सके संस्कृति संरक्षण र आयआर्जनको गतिलो माध्ययम बन्ने छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।