काठमाडौं । साहित्यकार वियोगी बुढाथोकीको पाँचौँ नियात्राकृति ‘समयले जुटाएको चिटचिट’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । नेपाली लेखक संघका अध्यक्ष समेत रहनु भएका उहाँका यसअघि १७ पुस्तक प्रकाशित छन ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नियात्रा समाजका अध्यक्ष मोहन चापागाईंलगायतले उक्त कृति सार्वजनिक गर्नुभएकाे हाे । चापागाईंले कृति सार्वनजनिक गर्दै वियोगीका नियात्राहरूमा मानवीकरण भेटिने बताउनु भयो । साहित्यकारको व्यक्तित्व कृतिमा भेटिने बताउँदै उहाँले कृतिभित्रका विभिन्न रोचक प्रसंगहरूको चर्चा गर्नुभयो।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. कपिल अज्ञातले यात्रामा आँखा, मन र गोडा, तीनैको सन्तुलन हुनुपर्ने भन्दै तिनकै सन्तुलनले नियात्रा जन्मिने बताउनु भयो । उहाँले वियोगीका नियात्रामा अनुभूति र सन्देश पर्याप्त रहेको बताउनु भयो ।
अर्का समीक्षक डा. अनुपमा रेग्मीले वियोगीका नियात्रामा अनुभूति र अभिव्यक्ति गहन रूपमा आएको बताउनु भयो । कार्यक्रममा कृतिकार बुढाथोकीको ७२औं जन्मउत्सव पनि मनाइएको थियो ।
शिवपुरी साहित्य समाजद्वारा आयोजित कार्यक्रममा सर्जकहरू विष्णुबहादुर सिंह, श्रीओम रोदन, प्रोल्लास सिन्धुलीय, भवानी खतिवडा, केशव पराजुलीलगायतले बोलेका थिए । पुस्तक भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।