दुई दिने 'काठमाडौं उत्सव' को पहिलो संस्करण फागुन १६ देखि

फाल्गुन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
दुई दिने 'काठमाडौं उत्सव' को पहिलो संस्करण फागुन १६ देखि

काठमाडौं । पहिलो संस्करणको 'काठमाडौं उत्सव ' यही फागुन १६ र १७ गते दुई दिन काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने भएको छ । साहित्य विशेष उत्सव भए पनि यसमा काठमाडौंको संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आममान्छेका जीवनका कथाहरू समेटिने काठमाडौं उत्सवका अध्यक्ष प्रकाश समीरले बताउनुभयो ।

उत्सवमा जम्मा १५ वटा सत्रहरू रहने छन् । काठमाडौं उत्सवका संयोजक तथा कवि-गजलकार बाबु त्रिपाठीका अनुसार महोत्सव आठ जना स्थापित कविहरूको कविता वाचनबाट उद्घाटन हुनेछ । उद्घाटन क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भूपाल राई, बैरागी काइँला, तुलसी दिवस, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, दिनेश अधिकारी र होमनाथ सुवेदीले कविता वाचन गर्नुहुनेछ ।

त्यसपछिका कार्यक्रमहरू काठमाडौं उत्सवका सल्लाहकार ओम रिजालको मन्तव्यसँगै अघि बढ्ने छ । ‘गायिका शान्तिश्री परियारको दुर्लभ संर्घर्षदेखि लोभलाग्दो सफलतासम्म’ सत्र महोत्सवको प्रमुख आकर्षणको रूपमा रहेको छ । शान्तिश्रीले कवि दीप दर्पणसँग साधना र सफलता शीर्षकमा अन्तर्संवाद गर्नु हुनेछ ।

उत्सवको पहिलो दिन लेखकहरू ध्रुवचन्द्र गौतम र वसन्त चौधरीबीच ‘अक्षरका आयामहरू’ शीर्षकमा विशेष कुराकानी हुनेछ । पत्रकार राजेन्द्र बानियाँको सहजीकरणमा अरुण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले सम्पदा, संस्कृति र सभ्यता शीर्षकमा काठमाडौंको संस्कृतिको ऐतिहासिक तथा मौलिक पक्षबारे छलफल गर्नु हुनेछ ।

ज्ञान, विवेक र विज्ञान विषयमा हुने अर्को सत्र पनि पहिलो दिनको आकर्षणका रूपमा रहेको छ जसलाई लेखक विमल आचार्यले सञ्चालन गर्नु हुनेछ ।

विभिन्न उमेर समूहका पुस्तक प्रेमीबीच लोकप्रिय बुकाहोलिक्सकी समूहकी संस्थापक सगुना शाहले कलेजमा पढिरहेका तन्नेरी विद्यार्थीहरूसँग ‘सानो संसार, ठूलो संसार’ शीर्षकमा भलाकुसारी गर्नु हुनेछ ।

‘भुइँका कुरा’ सत्रमा दशकौंदेखि मकै पोलेर र चिया पकाएर गुजारा चलाइरहेका आममान्छेका अनुभव सुन्न पाइने छ । भुइँका कुराको सहजीकरण लेखक विना थिङले गर्नु हुनेछ ।

यस्तो छ काठमाडौं उत्सवको तालिका :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement