सुर्खेतको वीरेन्द्रनगरमा आज देखि 'कुडा कर्नालीका'

फाल्गुन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुर्खेतको वीरेन्द्रनगरमा आज देखि 'कुडा कर्नालीका'

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आज देखि कर्णाली उत्सव 'कुडा कर्नालीका' सुरू हुँदैछ ।

विगतका वर्षझैं यस पटक पनि फागुन ५ देखि ७ गतेसम्म उत्सव चल्नेछ । आज मध्याह्न उद्घाटन हुने उत्सवमा वैदेशिक रोजगारी र सुरक्षित आप्रवासनका विषयमा बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले मन्तव्य राख्नुहुनेछ भने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले नीति उत्सवको औचित्यका विषयमा विचार राख्नुहुनेछ ।

उद्घाटन सत्रकै क्रममा ‘मान्ठ र मइडो’ शीर्षकको एउटा विद्वत् प्रवचन रहनेछ । उक्त प्रवचन राजनीतिक विश्लेषक आहुतिले प्रस्तुत गर्नुहुनेछ । मुख्यमन्त्री यामलाल कँडेलले संघीयताका विषयमा मन्तव्य राख्ने कार्यतालिका रहेको आयोजकले जनाएको छ ।

उत्सवको छैठौं संस्करणमा उच्च शिक्षा, अनुसन्धान र विकास, कर्णालीमा महिला आन्दोलन, खस भाषामा युवाहरूको सक्रियता, नारी नेतृत्व, स्याउ खेती, अर्थतन्त्र, संघीयता, मधेश र कर्णाली प्रदेशको सम्बन्ध, जिल्ला सदरमुकामका इतिहास, वीरेन्द्रनगर उपत्यकाको इतिहास र वर्तमान अवस्था, राजनीतिमा सक्रियता, खेलकुदजस्ता विषयमा समूहमा छलफल गरिने आयोजकले जनाएको छ । उत्सवका क्रममा प्रत्येक दिन विद्वत प्रवचन, पैकेलो, सांगीतिक साँझ हुनेछ ।

यसअघि बुलबुले उद्यानमा हुने उत्सव यो वर्ष भने सिटी हलको प्राङ्गणमा हुनेछ ।  'कुडा कर्नालीका' कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक लगायका विषयमा रुपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोको रुपमा रहेको आयोजक कमिटीका संयोजक कमल लम्सालले बताउनु भयो ।

कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव भएको उहाँले बताउनु भयो ।  २०७६ देखि सुरू भएको उत्सवको यो छैठौं संस्करण हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement