काठमाडौं । साङ्ग्रिला बुक्स र रूम टु रिड नेपालको सहकार्यमा विकास गरिएका बालसाहित्यका पाँच पुस्तक आइतबार एक समारोहका बीच लोकार्पण भएको छ । रूम टु रिडले नेपालमा पहिलो पटक निजी प्रकाशन गृहसँग सहकार्यक गरेको हो ।
लेखक अस्मिता वादीको ‘जुन र किरी’, अनामिका गौतमको ‘इभा मख्ख, आमाबुबा छक्क’, दीपमाला महर्जनको ‘स्मार्ट आद्या’, रवि मिश्रको ‘दिव्याको कृष्टल बल’ र रेणुका जिसीको ‘चमत्कारी घडी’ चित्र पुस्तकहरू अनुदिता बस्नेत, आद्याश्री पौडेल, देवांश आर भट्टराई, मारिया काफ्ले र सर्वज्ञ पौड्यालले सामूहिक रूपमा लोकार्पण गर्नुभयो । सामाजिक मनोविज्ञानमा आधारित कथाहरूमा अनामिका गौतम, प्रज्वल थापा मगर, रवि मिश्र र सरिस्मा अच्छामीले चित्र बनाउनु भएको छ । नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित पुस्तकको अङ्ग्रेजी अनुवाद अवनी गिरीले गर्नुभएको हो ।
पुस्तक लोकार्पणमा बोल्दै लेखक तथा सम्पादक आन्विका गिरीले साङ्ग्रिला बुक्सले बालबालिकाको सिकाइ, मनोरञ्जन र पढ्ने बानीका लागि बाल साहित्यका पुस्तकलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले रूम टु रिड नेपालको प्राविधिक सहयोगले गुणस्तरीय बाल साहित्य प्रकाशन गर्न टेवा पुग्ने बताउनुभयो ।
रौतहटको जनशक्ति माध्यमिक विद्यालय, चन्द्रपुरकी प्रधानाध्यापक तथा लेखक रेणुका जिसीले शिक्षणमा बाल साहित्यका पुस्तकले निकै सघाउ पुग्ने भएकाले यसको प्रवर्द्धनमा सरकारको विशेष चासो हुनुपर्ने बताउनुभयो । उहाँले शिक्षक र अभिभावकले समेत बाल साहित्यका पुस्तक पढ्ने बानी बसाल्नु जरुरी भएको उल्लेख गर्नुभयो ।
रूम टु रिडका राष्ट्रिय निर्देशक पुष्कर श्रेष्ठले रूम टु रिडका पुस्तक सबैको पहुँचमा पुगून् भनेर निजी प्रकाशन गृहसँग सहकार्य गरिएको बताउनुभयो । रूम टु रिडले यसलाई अन्य प्रकाशन गृहसँग पनि विस्तार गरिने बताउनुभयो ।
बूढानीलकण्ठ स्कुलका प्रधानाध्यापक केशरबहादुर खुलालले बालबालिकाको संवर्द्धनका लागि बाल साहित्यको महत्त्व रहेको बताउनुभयो । बालबालिकाको समग्र व्यक्तित्वमा बाल साहित्यको छाप निकै पछिसम्म रहने हुँदा बाल साहित्यका पुस्तक सबै बालबालिकाको पहुँचमा हुनुपर्ने उहाँको धारणा थियो ।