फागुन २४ देखि तीन दिने 'टीकापुर साहित्य महोत्सव' हुँदै

फाल्गुन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
फागुन २४ देखि तीन दिने 'टीकापुर साहित्य महोत्सव' हुँदै

काठमाडौं । 'टीकापुर साहित्य महोत्सव' को दोस्रो संस्करण यही फागुन २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ । दोस्रो संस्करण नेपालका प्रथम नाटककार तथा सुदूरपश्चिमका राष्ट्रिय गौरव पहलमानसिंह स्वाँर विशेष हुने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ नाम दिइएको महोत्सव लेखक तथा अध्येता हरि शर्माको विद्वत् प्रवचनबाट सुरू हुनेछ । यस्तै नेपाली कला साहित्यका विद्वान व्यक्तित्व अभि सुवेदीको विद्वतासँग पनि टीकापुरवासीले साक्षात्कार गर्नेछन् । महोत्सवमा जम्मा २१ बहस सत्रहरू हुनेछन् जसमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धिसागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाह, रञ्जना निरौला, सुमन वर्षा घिमिरे, प्रभा बराल आदिले नेपाली आख्यानका विविध विषयहरूमा बहस गर्नुहुनेछ ।

गैरआख्यानकार बिन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन दर्शनबारे विचार विमर्श तथा विश्लेषण गर्नुहुनेछ । समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, डा. व्रतराज आचार्यका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति अम्मरराज जोशी तथा धनञ्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गर्नुहुनेछ ।

नेपाली काव्य विधामाथि कवि श्यामल, विप्लव प्रतीक, सीमा आभास तथा सुदूरपश्चिमका युवा कविहरू देवव्रत, खेम बतास, बीपी अस्तु, हेमन्त शिशिर र कल्पना जोशीले बहस गर्नुहुनेछ । चर्चित अभिनेत्री केकी अधिकारी तथा अभिनेता विजय बरालको पनि महोत्सवमा उपस्थिति रहनेछ ।

त्यसैगरी नाटक विधातर्फ सुनिल पोखरेल, घिमिरे युवराज, पशुपति राई र सुशीला तामाङ्ले आफ्ना धारणा राख्नुहुनेछ । निरन्तर हिट फिल्म निर्माणमा सफल निर्देशक प्रदीप भट्टराई र अभिनेता तथा फिल्म निर्माता रवीन्द्रसिंह बानियाँले नेपाली चलचित्र क्षेत्रबारे बहस गर्नुहुनेछ ।

साहित्यका साथै महोत्सवमा वैकल्पिक राजनीति, स्थानीय तहमा महिलाको नेतृत्व, समाज, थारू संस्कृति, विकास, पर्यटन, दलितका मुद्दा, जीवन दर्शनजस्ता विषयमा समेत छलफल चल्नेछ । टीकापुरका चुनौती र अवसर विषयले पनि महोत्सवमा विशेष प्राथमिकता पाउने बताइएको छ ।

दोस्रो संस्करण ‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ भएकोले अग्रज साहित्यकार पहलमानसिंह स्वाँरका सम्बन्धमा उहाँकी नातिनी ईश्वरी स्वाँर, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशी तथा स्वाँरमाथि शोध र अध्ययन गरिरहेका विज्ञहरूले स्वाँरको व्यक्तित्व, कृतित्व र योगदानबारे विशेष प्रकाश पार्नुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement