काठमाडौं । काठमाडौं जिल्ला अदालतले बुधबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘एक्टरः टेक वान’को प्रदर्शनमा रोक लगाएको छ ।
प्रतिलिपि अधिकार बमोजिम कारबाही गरी उचित क्षतिपूर्ति दिलाई पाउँ भन्दै नेपाल डायस्परा इन्टरटेन्मेन्ट प्रा. लिले काठमाडौं जिल्ला अदालतमा दर्ता गराएको रिटमा आदेश जारी गर्दै अदालतले विपक्षीलाई छलफलका लागि बोलाउँदै छलफलको अवधिसम्म चलचित्र प्रदर्शन नगर्न आदेश दिएको हो ।
नेपाली डायस्परा इन्टरटेन्मेन्ट प्रा.लि. ले नियमन निकाय चलचित्र बोर्ड र दुई फिल्म निर्माता कम्पनीलाई प्रतिवादी बनाई फिराद दायर गरेको थियो ।
‘यसमा वादी नेपाली डायस्परा इन्टरटेन्मेन्ट प्रा.लि. ले नियमन निकाय चलचित्र बोर्ड र दुई फिल्म निर्माता कम्पनीलाई प्रतिवादी बनाई फिराद दायर गरेको र दुबै पक्ष झिकाई छलफल गर्न आदेश भएकोमा आज निवेदन पेश हुँदा विवादित चलचित्र निर्माण गरेका भनिएका प्रतिवादी कम्पनीले निवेदनको र छलफलको मिति सम्बन्धी जानकारी पाएको नदेखिंदा ती कम्पनीको वतन निवेदक र चलचित्र विकास वोर्ड समेतको सहयोगमा उपलब्ध गरी प्रस्तुत निवेदनको जानकारी दिई मिति २०८१।१०।२२ को दिन तोकी अन्तरकालीन आदेश जारी हुने नहुने छलफलको लागि उपस्थित हुने जनाउ दिई पेश गर्नू । साथै निवेदकको चलचित्र Actor प्रर्दशन भईरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रर्दशनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसावले AKTOR take one लाई सो अवधि सम्म प्रर्दशन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीका नाममा यो अल्पकालीन आदेश जारी गरिएको छ,’ न्यायाधीश ढाकाराम पौडेलको इजलासले जारी गरेको आदेशमा भनिएको छ ।