पठन संस्कृतिमा कमी : पुस्तक प्रकाशनको संख्या बढेपनि बिक्री भने घट्यो

आश्विन २७, २०८१ |अवतार राई
पठन संस्कृतिमा कमी : पुस्तक प्रकाशनको संख्या बढेपनि बिक्री भने घट्यो

काठमाडौं । दशैं-तिहार जस्ता चाडबाडको मौकामा नयाँ-नयाँ पुस्तकहरु पनि बजारमा आएका हुन्छन् । दशैंमा हुने किनमेलमा कतिपयले पुस्तक किन्ने योजना समेत बनाएका हुन्छन् । तर, पछिल्लो समय पुस्तक प्रकाशनमा खासै गिरावट नआए पनि पुस्तक बिक्रीमा भने कमी आइरहेको सरोकारवालाहरुको चिन्ता छ । पठन संस्कृतिमा आइरहेको कमी र डिजिटल प्रविधिको प्रभावले पुस्तक बजार प्रभावित हुँदै गएको हो कि भन्ने उनीहरुको ठम्याइ छ ।

दशैंको आसपास एक सयको हाराहारीमा नयाँ पुस्तक बजारमा आउँछन् । एउटा पुस्तक १ हजारदेखि १० हजारप्रतिसम्म छपाइ हुने गरेको छ । प्रतिष्ठा कमाएका व्यक्ति वा नाम चलेका लेखकका पुस्तकहरु प्रकाशन गृहले नै बजारमा ल्याउँछन् भने नवलेखकहरुले आफ्नै लगानीमा समेत पुस्तक छापिरहेका हुन्छन् । यस वर्ष पुस्तक प्रकाशनको संख्या बढेको छ र लेखकहरु समेत थपिएका छन् । पाठकलाई रोजीरोजी पुस्तक पढ्ने अवसर छ । तर पनि पुस्तकको बिक्री अपेक्षित रुपमा बढेको भने छैन । 

पुस्तकप्रति रुची राख्ने धेरैले अध्ययनका लागि लामो विदाको समय रोज्छन् र बजारमा आएका पुस्तक रुची अनुसार खरिद गर्छन् । तर, किताबै पढ्ने बानी लागेका पाठकको संख्या भने घट्दै गएको प्रकाशक र लेखककै अनुभव छ । किनकि डिजिटल प्रविधिसँग हुर्किएको, त्यसैमा रमाउने र त्यसकै प्रयोग गरेर ज्ञान आर्जन गर्ने नयाँ पुस्तालाई किताबसँग जोड्न उल्लेख्य पहल नै भएको छैन ।

बजारमा अहिले नेपाली भाषामा आख्यान, गैरआख्यान मात्र होइन विभिन्न समुदायका मातृभाषाको पहिचान र उन्नयनका लागि प्रकाशित कृति पनि पर्याप्त पाइन्छ । यसले पठन संस्कृतिको दायरा त बढाएको छ तर व्यावसायिकता हासिल गर्न भने सकेको छैन । 

पाठकको रुची अनुसारका पुस्तक लेखन र प्रकाशन गरेर मात्र नभई प्रविधिको प्रयोग गरेर पुस्तकहरुलाई नयाँ-नयाँ पाठकसम्म पुर्‍याउन सके मात्र पठन संस्कृतिको नयाँ अध्याय सुरु हुने देखिन्छ ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।