‘मोहन सर : व्यक्ति र कृति’ पुस्तक विमोचन

आश्विन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘मोहन सर : व्यक्ति र कृति’ पुस्तक विमोचन

सल्यान । सल्यानका एक शिक्षक मोहनसिंह थापाबारे पुस्तक प्रकाशन भएको छ ।

‘मोहन सर : व्यक्ति र कृति’ स्मृतिग्रन्थ सल्यानमा कर्णाली प्रदेश मन्त्री सुरेश अधिकारीलगायतले विमोचन गरेका हुन् । विश्व शिक्षक दिवस तथा मोहनसिंह थापाको जन्मदिनको अवसर पारेर मोहन सरको दसौँ स्मृति दिवसपछि पुस्तक लोकार्पण गरिएको हो ।

पुस्तकमा ६१ वर्षको उमेरमै दिवंगत मोहन सरबारे ४५ जनाका स्मृति तथा मोहन सरका अप्रकाशित डायरी पनि संगृहीत छन् । आजीवन शिक्षण कर्म गरेर पनि स्थायित्व नखोजेका मोहन सर घरमा बिहान सबेरैदेखि राति अबेरसम्म निःशुल्क पढाउँथे ।

२०२८ सालको एलएसलीमा जिल्ला प्रथम भएका निम्नवर्गीय परिवारका मोहन सर राजनीतिक पहुँच नपुग्नाले छात्रवृत्तिमा थप पढ्न पाएनन् । उनको कोटा राजनीतिक पहुँचदारले पाएका थिए । आफ्नो शैक्षिक योग्यताभन्दा माथि उनले सल्यान क्याम्पसमा स्नातक तहमा लामो समय पढाए ।

सर्टिफिकेट नभएको भन्दै सल्यानको पहिलो विद्यालय त्रिभुवन जन माविमा १८ वर्ष पढाए पनि उनी रित्तै हात बिदा भए । २०४९ मा सल्यानमा पहिलो पटक सल्यान क्याम्पस खुलेपछि उनले सर्टिफिकेटविनै गणित र अर्थशास्त्र पढाए ।

गाउँगाउँबाट सदरमुकाम पढ्न आउनेलाई उनी निःशुल्क डेराबास दिन्थे । आजीवन अविवाहित मोहन सरलाई सल्यानी जनता तथा हजारौँ शिष्यहरु हिरो मानेर श्रद्धाले शिर निहुराउँछन् ।

पुस्तकलाई मोहन सरका विद्यार्थी प्रवीण भण्डारी र विमल आचार्यले स्वयंसेवी रुपमा सम्पादन संयोजन गरेका हुन् भने प्रकाशन खर्च मोहन सरका भाइ भूपेन्द्र र बहिनी सोबिताले व्यहोरेका थिए । पुस्तक सबैलाई निःशुल्क वितरण गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement