सुप्रिम सहकारी बचत अपचलन : लामिछानेको थुनछेक बहस हुँदै

माघ १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुप्रिम सहकारी बचत अपचलन : लामिछानेको थुनछेक बहस हुँदै

रूपन्देही । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज हुँदै छ ।

जिल्ला अदालत रूपन्देहीमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेलाई थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने दिने भन्ने विषयमा वकिलहरुले बहस गरिरहेका छन् । सुरूमा सरकारी वकिलले बहस गरिसकेपछि जाहेरवाला सहकारी पीडित पक्षका वकिलले गरेपछि प्रतिवादी पक्षका वकिलहरूको पालो आउने छ ।

थुनछेक बहसमा १२ जनाभन्दा बढी सरकारी वकिलले बहस गर्दै छन् । बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने हिजो रूपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए । अदालतले बयान सकेपछि लामिछानेलाई परिवार र प्रतिवादीका वकिलको जिम्माजमानीमा छाडेको थियो । 

लामिछानेसँग जिल्ला न्यायाधीश योगीको इजलासमा हिजो दिउँसो १ बजे बयान लिन थालिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले सुप्रिम सहकारीको रकम संगठित ठगीमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिको थियो। पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement