लन्डन अनप्लग्ड - नाम नै कस्तो रमाइलो !

श्रावण १४, २०८१ |मणि लोहनी
लन्डन अनप्लग्ड - नाम नै कस्तो रमाइलो !

कतै न कतै जोडिन चाहने मानिसको स्वभाव हो । तर मान्छेको यो स्वभाव सधैँ कहाँ पुरा हुन्छ र ? सम्बन्ध र परिस्थितिसँग कतै न कतै जोडिन चाहने मानवीय रहर र स्वभावलाई समयले यस्तरी चुनौती दिन्छ कि मान्छे एकातिरबाट त छुट्टिन्छ तर अर्कोतिर मज्जाले जोडिन सक्दैन ।

नयाँ ठाउँ र परिवेशसँग जोडिन चाहेर पनि जोडिन नसक्नु । सायद त्यही नै हो अनप्लग्ड जीवन ।

लेखक गोपी सापकोटाको यो किताब बेलायतमा भोगेको अनप्लग्ड जीवनलाई, अनप्लग्ड भर्सनमा नै लेखिएको गैरआख्यान हो । त्यसो त किताबभरि न नेपाल न लन्डन ‍…. बीचमा अलमलिरहेको सम्झना र यादहरू छन् ।  भूगोलको जुनसुकै कुनामा पुगे पनि जीवनको बाटो आफूले सोचेजस्तो फेरिँदैन  । जीवन जुन रूपले बग्छ त्यसरी बगाउन सक्नु नै खुसी हो भन्ने सन्देशले भरिएको छ – लन्डन अनप्लग्ड । यसमा गोपीले आफू नेपालबाट बेलायत हिँडेसँगै नेपालबाट छुट्टिएको तर बेलायतसँग जोडिन नसकेको अनप्लग्ड समय र जीवन उतारेका छन् ।

गोपी सापकोटालाई म चिन्छु । उनी अहिले लन्डनमा बस्छन् ।  काठमाडौंमा रहँदा नै मैले उनीभित्र लेखक बन्ने हुटहुटी देखेको हुँ । साहित्य र रंगमञ्चसंग जोडिएका उनी अहिले राम्रा लेखक बनिसकेका छन् । कृतिका सङ्ख्या नै करिब एक दर्जन पुग्न लागिसक्यो । त्यसो त यसअघि काँचो कागज र चिसो बाफ उनका चर्चित किताब हुन् । लेखनमा नवीनता गोपीको विशेषता हो ।

गोपीको यो नयाँ कृति लन्डन अनप्लग्ड गैरआख्यान हो । तर कथैकथाले भरिएका ।

स्वरूपको अन्त्य , मारिया र बिर्सने सम्झना यी कथाभन्दा कम छैनन् ।

लन्डन प्रवासका प्रारम्भिक दिनका कहालीलाग्दा कथा व्यथा यसमा छ । समग्र दक्षिण एसिया , एसिया र अफ्रिकी देशका मानिसहरू संवृद्ध जीवनको सपना बुन्दै वैध या अवैध रुपमा जसरी पनि  बेलायत छिरेका परिघटना र त्यसपछिका जीवन यसमा छ । बेलायत पुगेकाहरूको रोमान्स र टिठ लाग्दा कथाको चित्रणले यो किताब सजिएको छ ।

छोटा र सरल वाक्यविन्यास गोपीको विशेषता हो । यो किताब पढ्न सहज छ । प्रत्येक दुई चार पानामा अन्डरलाइन लगाउन मन लाग्ने केही वाक्यहरू भेटिन्छन् । आफ्नै जीवनलाई छोएजस्ता लाग्ने अनुभूतिहरू महसुस हुन्छन् र पढिरहूँ झैँ लाग्ने सन्दर्भहरू भेटिछन् ।  

गोपीका केही हरफहरू हेरौँ –

–    आँखाले रंग छुट्याउन छाडेको थिएन,  न त मनले सुख र दु:ख छुट्याउन छाडेको थियो ।

–    कफी सेलाए पनि उसको रिस सेलाएको थिएन । मेसेजमा अक्षरसँगै  आगो पठाउन मिल्ने भए प्रमिथसलाई नै ईर्ष्या  लाग्ने गरी उसले एक भाँडो  आगोको भुङ्ग्रो  पठाउने थिई।

–    बेला बेलामा उज्यालो खोज्दा खोज्दै अँध्यारोमा नै फस्दै गइरहेको छु जस्तो लाग्थ्यो । थाहा छैन भविष्यको त्यो मेरो उज्यालो कहाँनेर अड्केर बसेको छ ?  कतिखेर फुत्त खस्छ र धमिलिँदै गएको मेरो संसारलाई उज्यालो बनाउँछ

–    कुरै कुराले मन भरिएको कुरा बतासले थाहा पायो कि पाएन, थाहा भएन । उ चुपचाप घरको भित्तामा ठोक्किएर नदीतिरै फर्कियो ।

यो पुस्तक पढ्दा मैले गोपीलाई इमानदार पाएँ । उनले आफ्ना र अरूका कथा लेखिरहँदा कतै कुनै बेइमानी गरेका छैनन् । तर एउटा बिर्सन नहुने कुरा के हो भने संस्मरणमा लेखकले जति कुरा स्पष्टसँग लेखेको हुन्छ, त्यति नै चलाखीपूर्वक लुकाएको पनि हुन्छ । तर मलाई लाग्दैन कि गोपीले यो किताबमा त्यस्तो गरेका छन् ।

म आफू पनि कविता र कथा लेख्छु । केही गैरआख्यान लेखेको छु । मलाई वास्तविक जीवनबाट टिपेर लेख्न मज्जा लाग्छ । अरूका कथाहरू सुटुक्क उनीहरूले चालै नपाउने गरी बटुलिरहेको हुन्छु । मैले भेटेका केही मानिसहरूसँग प्रश्न गरिरहेको हुन्छु । वास्तविक संसारलाई सधैँ नियालेर हेरिरहेको हुन्छु । तर रमाइलो त के भने मैले वास्तविक जीवनबाट उठाएका प्रसंगहरू नै अधिकांश पाठकले मेरा आख्यानका सबैभन्दा बढी अविश्वसनीय लागेका प्रसंगहरू भन्ने प्रतिक्रिया दिने गर्छन् । सायद कुनै पनि कृति पढ्नुअघि नै हामी आख्यान र गैरआख्यानको परम्परागत मान्यतालाई शिरोपर गरिसक्छौँ र यस्तो हुन्छ ।

गैरआख्यान भनेको भावना प्रवाह मात्र होइन । समय र घट्नाको तस्बिर र दर्शनको गहिराइ पनि हो । जीवन जिउने शैलीको चालै नपाउने सिकाइ पनि हो ।  जीवनका बहुआयमिकतालाई नबुझी गैरआख्यान लेख्न सकिँदैन । लेखे पनि त्यो सर्वप्रिय हुँदैन । यस सन्दर्भमा गोपी सचेत र सफल छन् ।  

किताबमा पात्रहरू जीवनका धरातलमा कतिसम्म वास्तविक रूपमा समेटिएका छन् वा छैनन् भन्ने कुराले पाठकलाई प्रभाव पार्छ । काल्पनिक कुराहरू अक्षरमा मात्र छन्, वास्तविकतामा छैन भने त्यसले पाठकलाई अब्बल आनन्द नदिन सक्छ । गैरआख्यानको शक्ति के हो भने वास्तविक घटना र पात्रले जीवनको धरातललाई झस्काइरहन्छ ।

भौतिक सुविधाको खोजीमा हिँडेका मानिसहरू र उनीहरूका सपना यसमा पढ्न सकिन्छ । रोजगारको तीव्र खोजीमा नागरिकले कसरी देश छाडिरहेका छन् ? त्यसको कारुणिक चित्र यसमा छ । देश छाडे पछिका दुःख र सपनाको संगोलो हो यो किताब । अनेकन् दुःखले थिचिरहँदा पनि सपनाको लालसाले दुःखको सामना गर्न कसरी बाध्य छन् मानिसहरू ?  र त्यो बाध्यताले कसरी दरिलो बनाइरहेछ मान्छेलाई ?

हुन त किताबभरि विदेशी भूमिमा नेपालीले पाएका दुःख र सुखका अनुभवहरू छन् । गोपीले म र मेरा भनेर आफ्नै कुराहरू गरेका छन् । तर गोपीकै कुराहरूमा तपाई अहिलेको समय र मनोदशालाई पढ्न सक्नुहुन्छ । मान्छेका सपना र सपनाको पछिपछि दौडिरहँदाका माथापच्चिसी पढ्न सक्नु हुन्छ । मैले अघि नै भनेजस्तो भाषाशैली यति मीठो छ कि पढिरहूँ लाग्छ । पढ्दा थाकिँदैन । बरु थकाइ मेटिन्छ । काम गर्दा गर्दैको आलस्य मात्र होइन जिन्दगी बाँच्दै जाँदा बढेको दिक्दारी पनि यो किताबले मेटाउँछ । अरू त होइन तपाईँको बुझाइको स्तरलाई यसले अझ फराकिलो र सहज बनाइदिन्छ । यो मेरो ग्यारेन्टी भो ।

लन्डन अनप्लग्ड ढुक्कले पढे हुन्छ । 

मणि लोहनीका थप लेखहरू यहाँ हेर्नुहोस् ।


Image

मणि लोहनी

लोहनी कान्तिपुर टीभीमा कार्यरत छन् ।