रिटिङ-रिटिङ नबजाऊ बिनायो…

श्रावण ११, २०८१ |मणि लोहनी
रिटिङ-रिटिङ नबजाऊ बिनायो…

उनको गीत सुन्दा म कति वर्षको थिएँ, यादै भएन ।

बच्चैदेखि गुनगुनाउँदै हुर्किएँ । त्यसताका अहिलेका जस्ता संगीत सुन्न विविध माध्यम र अवसर थिएनन् । रेडियो नेपालमा खुब बज्थ्यो उनको गीत । हामी रेडियोसँगै भाका मिलाउँदै चिच्याउँथ्यौँ -

रिटिङ-रिटिङ नबजाऊ बिनायो

बिनायोले मन मेरो छिनायो

यो गीत वरिष्ठ लोकगायक एल.पी. जोशी नामको पर्याय नै बन्यो । वि स २०१७ सालमा रेकर्ड भएको यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । सबैको जिब्रोमा झुन्डिएकै छ । उनी जहाँजहाँ पुग्थे, त्यहाँ यो गीत नगाई धरै पाउँदैन थिए । त्यसो त उनले पूर्वका धेरै राम्राराम्रा लोकभाका पनि गाएका छन् । ‘ओल्लो खोलो, पल्लो खोलो–कमिलोको गोलो, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङमट्याङ्’, ‘खिपीमा खिपी बिनायो बाजा’जस्ता गीतहरू धेरै लोकप्रिय छन् । तर बिनायोले नै उनलाई चिनायो । बिनायोबाटै उनी सबैको मनमनमा राज गर्न पुगे ।

नेपालमा बिनायोलाई संगीतमा पहिलोपल्ट प्रयोग गर्ने उनै हुन् । यो लोकबाजालाई लोप हुनबाट जोगाएको श्रेय उनैलाई जान्छ । अहिले बिनायो भन्ने बित्तिकै जो कोहीले लोकगायक एल.पी.जोशीलाई नै सम्झिन्छन् । नेपालमा बिनायो लोप हुँदै गएको बेला उनले पटक पटक आफ्ना लोकभाकामा बिनायोको प्रयोग गरेका छन् । उनको घरमै थियो बिनायो । फुर्सदमा मन खोलेर उनी बिनायो बजाउँथे पनि ।

‘यसरी मुखमा राखेर बिनायो बजाउन जान्ने मान्छे भेट्नै मुस्किल छ अचेल’ पछिल्लो भेटमा उनले भनेको सम्झिन्छु, ‘लोकबाजा संरक्षणका लागि तपाईँ हामी नै सक्रिय हुनुपर्छ ।’ २०८०को अन्तिमतिर हो, झापा दमकस्थित उनको निवासमा मैले उनलाई भेटेको । त्यो भेटमा मेरो साथमा संस्कृतिविद् तथा कवि तुलसी दिवस, नाट्यकर्मी अशेष मल्ल र कवि निबन्धकार मोमिला पनि थिए । यी तीनै जना लोकगायक एलपी जोशीका नातेदार थिए ।

‘जीवनलाई गीतसंगीतसँग ढाल्न जान्यो भने सहज छ, नत्र निकै जटिल छ जिन्दगी । जिउन नजानेर दुख पाउँछौ हामी ।’ नब्बेको नजिकमा पनि लोक गायक एलपी जोशीको आवाज जबरजस्त थियो ।

२०८० फागुन २४ गतेको त्यो भेट नै अन्तिम हुन पुग्यो ।

नब्बे छेउछाउ पुग्नै लाग्दा पनि झापामा रहेर लोक संगीतको सेवा गरिरहेका उत्साही सर्जकको सृजनशील जीवनयात्रा समाप्त भएको छ । साउन १० गते बिहीबार साँझ झापा दमकमा उनको निधन भएको हो । धनकुटा जिल्लाको ६ नम्बरको बीच बजारमा १९९३ सालमा जन्मिएका जोशी पछिल्लो समय झापामा बस्थे । दुई छोरामध्ये कान्छालाई तीन वर्ष अगाडि र एक दशक अगाडि पत्नी गुमाएर पारिवारिक शोकमा रहेका जोशी पाको उमेरमा पनि गीत संकलनमा सक्रिय थिए ।

चर्चित महाकाव्य मुनामदनलाई गीतिनाटकका रूपमा उनले मञ्चन गराएका थिए । प्रवेशिका परीक्षा छोडेरै गायनमा लागेका उनले वि.स. २०१३ सालमा पहिलोपल्ट रेडियो नेपालमा गीत रेकर्ड गराएका हुन् । पहिलो गीतले नै उनलाई गायकका रूपमा श्रोताको मनमा बास दियो । पहिलोपल्ट गीत गाउँदा उनले ८ रुपैयाँ पारिश्रमिक पनि पाएका रहेछन् । उतिबेला पनि उनी दरबारिया कार्यक्रमहरूमा गीत गाउन जान्थे । एउटा कार्यक्रममा गीत गाउँदा ५० रुपैयाँ पाउँथे ।

लोकगायक एल.पी.जोशीको पूरा नाम लक्ष्मी प्रसाद जोशी हो । उनले आफै संकलन गरेर रेडियो नेपालमा गाएका गीतहरू कालजयी भएका छन् ।

रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो, ऐयाया आक्काका, सान्नानी लोकगायक एलपीका यी गीत मन नपराउने सायदै कोही होलान् । नेपाली लोकसङ्गीतका पारखीहरुबीच लोकप्रिय गायकका रूपमा परिचित उनी पुराना गाउँ र बस्तीका गीतहरू गाएर नै चर्चाको शिखरमा पुगेका हुन् । नेपाली समाजको मौलिकतामा रहेर शब्द संकलन तथा सृजना गर्न माहिर उनी पछिल्ला पुस्तामाझ भने त्यति चिनिँदैन थिए ।

१८ वर्षको कलिलो उमेरमै उनलाई रेडियो नेपालमा गीत गाउने अवसर पाएका थिए । उनले जम्माजम्मी ६०/६५ गीत गाए । लोक लय र शब्दका कारण उनका अधिकांश गीत सर्वप्रिय बने । चित्रकलामा पनि रुचि भएका उनी कुनै समय विद्यालयमा चित्रकला पनि पढाउँथे । उनी क्यानभासमा खेल्थे । कोलाजमा रमाउँथे । राजा वीरेन्द्रको तस्बिर आर्ट गर्दा राजा खुसी भएर उनलाई त्यतिबेला १ हजार रुपियाँ पुरस्कार दिएको उनैले बताएका थिए । त्यो तस्बिरमा राजा वीरेन्द्रले हस्ताक्षर समेत गरिदिए । जीवनजत्तिकै सजीव चित्रकारिताको खुबी उनको थियो । झापाका धेरै कलाकार उनलाई आफ्नो पहिलो गुरु मान्छन् ।

अन्तिम भेटमा उनले भनेका थिए, ‘जीवनमा धेरैथोक गरियो । अझै धेरै गर्नु छ । त्यो भन्दा बढी अझै धेरै दुःखहरुलाई भोग्नु छ ।’

एलपी जोशी र बीपी कोइरालाबीच राम्रो सम्बन्ध थियो । बीपी २००८ सालमा धनकुटा गएका थिए । उनको कार्यकालमा गृहमन्त्री चिनियाकाजी मारिएपछि बीपीको सर्वत्र विरोध भएको थियो । त्यसबेला एलपी जोशी ‘बालसखा’ भन्ने बालबालिकाको संस्थामा आबद्ध थिए । त्यतिबेला उनले पनि बीपीको विरुद्धमा चर्काचर्का नारा लगाएछन् । त्यो घटना थाहा पाएर बीपीले उनलाई साँझमा भेट्न बोलाए । बीपीले उनलाई आफैँले ल्याएको चिनीया चकलेट खान पनि दिए । त्यसपछि बीपीसँग उनको पटक पटक भेट भयो । २०१५ सालमा पहिलो आम निर्वाचनका बेला बीपीले उनलाई चुनावी प्रचारमा गीत गाउन सँगै लिएर हिँडे । उनी भन्छन्, ‘बिपीले धेरैपल्ट चुनावी गीत गाउन सँगै लिएर हिँडे ।’

एलपी र बीपीको सम्बन्ध राम्रो बन्यो । केही समस्या पर्दा उनी बीपीलाई भन्थे । बीपीसँगको सङ्गत बढ्न थालेपछि र कांग्रेसी गीत गाउँदै हिँड्न थालेपछि उनलाई साथीभाइले ‘कांग्रेसी’ पनि भनेछन् । गीत गाएबापत उनले अलिअलि खर्च पनि पाउँथे ।

‘त्यही लोभले उतिबेला पूर्वका धेरै ठाउँमा गीत गाउँदै हिँडियो तर म कांग्रेस चाहिँ थिइनँ ।’ उनी मुस्कुराए ।

राजा महेन्द्रसँग पनि उनको हेलमेल थियो । गीत गाएरै उनी राजा महेन्द्रको नजरमा परेका थिए । २०१९ सालमा महेन्द्र पूर्वी विराटनगरमा आएका थिए । एउटा संस्थाको लोकनृत्य लिएर उनी धरानबाट विराटनगर गए, राजालाई कार्यक्रम देखाउनका लागि । उनी मुखैले सनही बजाउँथे । महेन्द्रका अगाडि उनले पहिलोपल्ट उतिबेलाको चलेको गीत प्रस्तुत गरे ।

‘केको कोर्का, केको कोर्का कुराउनीको कोर्का लैलै

अहिलेको त झिल्के मात्रै पोइ त राम्रो पोरको नै लैलै ।’

यो गीत सुनेर राजा खित्का छोडेर हाँसेछन् । गीत गाएर राजा महेन्द्रलाई हँसाउन सकेकोमा उनी पनि गमक्क फुले । त्यही गीत सुनेर उनलाई मन पराएका राजाले उनलाई काठमाडौं बोलाए - लोकगीतको प्रतियोगितामा भाग लिन । उतिबेला दरबारमा लोकगीत प्रतियोगिता हुने गर्दथ्यो । कार्यक्रममा गाए बापत अलिअलि खर्च पनि आउँथ्यो । त्यही खर्चका लागि उनीपछि साथीभाइहरूको टोली बनाएर दरबार पुगे । त्यसबेला निर्णायकमा धर्मराज थापा र लक्ष्मण लोहनी थिए । उनी लोक गायन प्रतियोगितामा प्रथम भए ।

त्यसपछि २०२२ मा उनी सोभियत रुस गए । उनी शिवशंकर, कृष्णनारायण, तारादेवीसँगको टोलीमा थिए ।

अभिनयमा पनि एलपी जोशीको नाम सम्मानले लिने गरिन्छ । नेपालको दोस्रो चलचित्र ‘हिजोआजभोलि’ मा उनले नेपालकी पहिलो नायिका भुवन चन्दसँग मुख्य भूमिका फिल्म पनि खेलेका छन् । उनले ९ वटा चलचित्रमा अभिनय गरेका छन् ।

एलपी जोशीले दमकलाई नै कर्मथलो बनाए । गायन जीवनको लामो समय उनले मोफसलमै बिताए । मोफसलमै बसेर धेरै काम गरेकोमा उनी खुसी थिए । गीत र कविताको उनको संयुक्त सङ्ग्रह ‘अनावृत्त’ प्रकाशित छ । अन्तिम भेटमा उनले भनेका थिए, ‘जीवनमा धेरैथोक गरियो । अझै धेरै गर्नु छ । त्यो भन्दा बढी अझै धेरै दुःखहरुलाई भोग्नु छ ।’

तर उनले भनेजस्तै अव उनले दु:खहरुलाई भोग्नु पर्ने छैन ।

अलबिदा लोकगायक !

मणि लोहनीका थप लेखहरू यहाँ हेर्नुहोस् ।


Image

मणि लोहनी

लोहनी कान्तिपुर टीभीमा कार्यरत छन् ।