रेजिनाको कथासंग्रह अस्तित्व विमोचित

श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
 रेजिनाको कथासंग्रह अस्तित्व विमोचित

काठमाडौं । कला पत्रकार रेजिना पाण्डेद्वारा लिखित कथासङ्ग्रह ‘अस्तित्व’ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा विमोचन गरिएको छ । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, साहित्यिक अन्वेषक जयदेव भट्टराई, साहित्यकार तथा पत्रकार मणि लोहनी र कथाकार रेजिनाले संयुक्त रुपमा अस्तित्वको विमोचन गर्नुभएको हो ।

कृति विमोचन गर्दै वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले समाजमा लुकेको पाटो तथा महिलाले भोगेका पीडा जस्ताको तस्तै उतार्न कथाकार सफल भएको बताउनुभयो । साहित्यकार तथा पत्रकार मणि लोहनीले पत्रकार पाण्डेमा स्थापित कथाकार हुन सक्ने सम्भावना देखिएको विचार व्यक्त गर्नुभयो । त्यस्तै पत्रकार एवं साहित्यकार श्रीओम श्रेष्ठ रोदन र जयदेव भट्टराईले कथाकार रेजिनालाई सफलताको शुभकामना दिनुभयो ।

दृष्टी साप्ताहिकले आयोजना गरेको विमोचन कार्यक्रममा कथाकार पाण्डेले आफूले विराट सिर्जना गर्न नसके पनि समाजका यथार्थ पात्रलाई कथामा उभ्याएको बताउनुभये । लेखिका पाण्डेको सङ्ग्रहका हरेक कथामा महिला पात्र छन्, जो हेपिएका तथा दमन र पीडामा परेका छन् । तिनका दमित इच्छा, सपना र चाहना, असहजता र दुर्दशामय भोगाइ पनि कथामा व्यक्त भएका छन् ।

महिला-पुरुष सम्बन्धलगायत प्रेम, नारी मनका भाव, पुरुष मनोविज्ञान, पुरुषभित्रको रिक्तता र महिलाको बाध्यता चित्रण गरिएका १७ कथा कृतिमा संग्रहीत छन् ।

रेजिनाको यसअघि ‘अविरल पानाहरू’ र ‘सुख खोज्दाका दिनहरू’ कवितासङ्ग्रह प्रकाशित छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.