धीरेन्द्र सिनालको ‘भुक्तमान’ सार्वजनिक

जेष्ठ १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
धीरेन्द्र सिनालको ‘भुक्तमान’ सार्वजनिक

काठमाडौं । मिर्गौला रोग लागेका बुबा, श्रीमती र गर्भमै रहेको बच्चा गुमाउनुको पीडा कति असह्य होला ? लेखक धीरेन्द्र सिनाल यस्तै पीडादायी क्षणका साक्षी हुनुहुन्छ ।

बुबा, श्रीमती र गर्भमै रहेको बच्चा समेतलाई गुमाउनुभएका सिनालले मिर्गौला उपचारका लागि खाएको हन्डर कहालीलाग्दो छ । उहाँले आफ्नो पीडादायी क्षणको सम्झनामा किताब भुक्तमान लेख्नुभएको छ ।

आज काठमाडौंमा उहाँले लेख्नुभएको किताब भुक्तमानको विमोचन गरिएको छ । सांग्रिला बुक्सले प्रकाशन गरेको भुक्तमानको विमोचन प्रतिनिधिसभा सांसद डा. तोशिमा कार्की र डा. अनुप सुवेदीले गर्नुभएको हो ।

लेखक सिनालका अनुसार उहाँकी पत्नी सोनुका दुवै मिर्गौलाले काम नगर्ने भएपछि उपचार गराउँदा पाएको सास्ती, नेपालमा उपचार र डायलासिस गर्दा भोग्नुपरेको सकसलाई, भारतमा उपचार गराउँदाको कथा र मिर्गौला प्रत्यारोपणका लागि गरेको दौडधूप र असफलता पुस्तकमा समेटिएका छन् ।

पुस्तकले मिर्गौला रोगबाट पीडितले भोग्नुपर्ने समस्यासँग देशको स्वास्थ्य संरचना र उपचार सेवामा रहेको अस्तव्यस्तता उजागर गरेको छ । कार्यक्रममा लेखक सिनालले भन्नुभयो, ‘मैले श्रीमती गुमाएँ, बुबालाई गुमाएँ । मलाई के लाग्छ भने उहाँहरुको मृत्यु त्यसै भएको होइन । उहाँहरुलाई राज्यले मारेको हो । राज्यको सेवा-सुविधाले मारेको हो । यदि हामीजस्तो सर्वसाधारणले सुलभ स्वास्थ्य सेवा पाएको भए मैले श्रीमती, बुबा गुमाउनु पर्थेन ।’

यस्तै पुस्तक विमोचनपछि डा. कार्कीले मुलुकको स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सुझाउनुभयो । उहाँले भन्नुभयो, ‘पुराना सरकारहरुले स्वास्थ्य सेवालाई कहिल्यै प्राथमिकतामा नराखेकै कारण अहिले बिरामीले सास्ती खेप्नुपरेको छ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.