स्वरसम्राट नारायण गोपालको घरलाई सङ्ग्रहालय बनाइने

मंसिर १९, २०८० |श्रृजना बास्तोला
स्वरसम्राट नारायण गोपालको घरलाई सङ्ग्रहालय बनाइने

काठमाडौं । स्वरसम्राट नारायण गोपालको महाराजगन्जस्थित घर संगीतप्रेमी र स्रष्टाका लागि मन्दिरसरह मानिन्छ । स्वरसम्राटले व्यक्तिगत रूपमा प्रयोग गरेकादेखि साङ्गीतिक सामग्रीसम्मलाई समेट्दै सोही घरलाई सङ्ग्रहालय बनाइने भएको छ । नारायण गोपाल सङ्गीत कोषअन्तर्गत रहेको घरलाई सङ्ग्रहालय बनाउन अहिले नारायण गोपालसँग सम्बन्धित सामग्रीको अभिलेखीकरण गर्ने काम भइरहेको छ ।

१९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालले स्वआर्जनले आर्जेको महाराजगन्जको यही घरमा आफ्नो अधिकांश सृजनशील जीवन बिताए । संगीतप्रेमीका लागि यो घर तीर्थस्थल जत्तिकै मानिन्छ । 

२०४७ मङ्सिर १९ गते उनको निधनपछि उनकी जीवनसँगिनी पेमलाले पनि आफ्नो जीवन साङ्गीतिक क्षेत्रको श्रीवृद्धिका लागि समर्पण गरिन् । नारायण गोपालको निधन भएकै वर्ष पेमलाले २२ आनामा रहेको यो घर नारायण गोपाल सङ्गीत कोष स्थापना गरी कोषलाई जिम्मा दिइन् । यहाँ लामो समयदेखि सङ्गीत प्रशिक्षण हुँदै आएको थियो । नारायण गोपाल गीत संगीतको पूर्णतामा आर्केष्ट्राको भूमिका महत्त्वपूर्ण मान्थे । त्यसैले यहाँ आर्केष्ट्रासमेत प्रशिक्षण गरिँदै आएको छ ।

गीत गंगा सङ्गीत प्रशिक्षण विद्यालय निर्माण गर्ने सपना पनि थियो नारायण गोपालको । सोहीअनुसार कोषको पहल र काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा उनको घर छेवैमा नारायण गोपाल सङ्गीतमय गीतगंगा भवन पनि निर्माण गरिँदै छ। जसमा सङ्गीत प्रशिक्षणसहित विभिन्न कार्यक्रमहरू आयोजना गरिने योजना कोषको छ ।

नारायण गोपालको यो घरमा उनले प्रयोग गर्ने सामान, भाँडाकुँडा, लत्ताकपडा, सम्मान पत्र तथा तस्बिरहरू छन्। कोषले स्वरसम्राटसम्बन्धी थप सामग्रीको पनि खोजी गरिरहेको छ । यी सामग्रीले उनको सामान्य जीवनशैली र उच्च सृजनशील महत्त्वाकाङ्क्षालाई झल्काउँछ ।


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।