पद्मश्री साहित्य पुरस्कार उपन्यास ‘मनु’ र पद्मश्री साधना सम्मान वात्स्यायनलाई

आश्विन ८, २०८० |कान्तिपुर टीभी संवाददाता
पद्मश्री साहित्य पुरस्कार उपन्यास ‘मनु’ र पद्मश्री साधना सम्मान वात्स्यायनलाई

काठमाडौं । ‘पद्मश्री साहित्य पुरस्कार-२०७९’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई प्रदान गरिने भएको छ।

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान रत्ननगर, चितवनले २०७९ सालको उक्त पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई अर्पण गर्ने निर्णय भएको जनाएको छ ।

मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक- सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भइ उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा उपन्यासमा चित्रण गरिएको प्रतिष्ठानले जनाएको छ । प्राप्त १८० पुस्तकमध्येबाट छनोट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची ) मा पन्ध्र र दोस्रो चरण (सङ्क्षिप्त सूची) मा पाँच पुस्तक सार्वजनिक गरेको प्रतिष्ठानले सुवेदीको उपन्यासलाई पद्मश्री साहित्य पुरस्कार दिने घोषणा गरेको हो ।

यसैगरी प्रतिष्ठानले पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय गरेको छ ।

उनले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिएको प्रतिष्ठानले‍ जनाएको छ ।

यस्तै गत वर्षदेखि सुरु गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष शिक्षाको क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई अर्पण गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

तीनवटै पुरस्कारको राशी तीन लाख रुपैयाँ रहेको छ । उक्त सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.