काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेपाली राजनीतिमा जति चर्चित छन्, साहित्यमा त झनै अमर मानिन्छन् । कथा, कविता, उपन्यास र संस्मरण गरी एक दर्जनभन्दा बढी कृति लेखेका बीपी नेपाली साहित्यमा प्रथम मनोवैज्ञानिक यथार्थवादी कथाकारका रुपमा चिनिन्छन् ।
राजनीतिसँगै साहित्यमा पनि योगदान पुर्याएका आफ्ना संस्थापक नेताको सम्झनामा नेपाली कांग्रेसले साहित्य महोत्सवसमेत गर्न लागेको छ ।
१९७१ भदौ २४ मा जन्मेका बीपी कोइराला युवा अवस्थामै राणाविरोधी संघर्षमा होमिए । २००७ सालमा प्रजातन्त्र स्थापनापछि गृहमन्त्री बने । २०१५ सालको आम निर्वाचनपछि प्रधानमन्त्री बने । सत्तामा पुगेपछि पनि निर्वासन र जेल जीवन बीपीका लागि सामान्य बन्यो ।
नेपाली कांग्रेसको स्थापना र प्रजातान्त्रिक समाजवाद सिद्धान्तका प्रतिपादक कोइरालाले त्यही क्रममा आफ्नो फरक परिचय स्थापना गरे । नेतासँगै साहित्यकार उनको परिचय बन्यो । राजनीति र साहित्यलाई एक साथ अगाडि बढाउन उनी सफल भए ।
संगीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो भन्ने बीपी कोइरालालाई नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तकका रुपमा चिनिन्छ ।
सुम्निमा, तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, नरेन्द्र दाइ, बाबु, आमा र छोरासमेत छ वटा उपन्यास लेखेका कोइरालाले श्वेत भैरवी, विश्वेश्वरप्रसाद कोइरालाका कथा र दोषी चश्मा गरी तीनवटा कथा संग्रह लेखे । जेल जर्नल, आत्मवृतान्तसहितका संस्मरण, केही कविता र फुटकर निबन्ध लेखेका कोइरालाले राजनीतिमा आफू समाजवादी र साहित्यमा अराजकतावादी हुँ भन्ने गर्थे ।
आफ्ना सिर्जनामा कुनै न कुनै माध्यमबाट मुक्ति, आन्दोलन र राजनीतिक चेत प्रवेश गराउने कोइरालाले नेपाली साहित्यमा पुर्याएको योगदानको स्मरण गर्दै कांग्रेसले पहिलो पटक आइतबारदेखि बीपी साहित्य महोत्सव गर्दै छ ।
नेपाल र भारतका साहित्यकारहरु सहभागी हुने तीनदिने महोत्सवमा बीपीका सृजनाका विभिन्न आयामबारे छलफल हुने कांग्रेसले जनाएको छ ।